Logo
Logo
सत्ता समीकरण

तीन दलका तीन कुरा–जसका कारण ओली सरकारको आयु बढ्दै

समर्थन फिर्ता गर्न माओवादीलाई कांग्रेस/जसपाको दबाब


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सत्ता समीकरण नबन्दा केपी शर्मा ओली नेतृत्वको सरकारको आयु बढ्दै गएको छ । कम्तिमा बजेटसम्ममा आफ्नो सरकार तान्न ओली चाहन्छन् ।

अहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली चाहना पूरा हुनेतर्फ अघि बढेको छ । ओलीको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनको विरोधमा सडकमा उत्रिएका कांग्रेस, माओवादी केन्द्र (साविकको नेकपा प्रचण्ड नेतृत्व) र जनता समाजवादी पार्टी (जसपा) ले प्रष्ट धारणा नबनाउँदा ओलीको सत्ता आयु बढाउँदै लगेको छ ।

कांग्रेसले जसपाको भूमिका प्रष्ट नभएसम्म नयाँ समीकरणबारे छलफल नचलाउँने बताउँदै आएको छ भने जसपाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारण राजनीतिक गतिरोध कायम रहेको दोषारोपण गरेको छ । अर्कोतिर माओवादी केन्द्रले भने नयाँ प्रधानमन्त्रीको टुंगो नलाग्दा समर्थन फिर्ता गर्न अवस्था नभएको तर्क गर्दै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए । छलफलमा कांग्रेस सभापति देउवाले जसपासँग छलफल गरेपछि मात्र आफ्नो निर्णय आउँने बताएका थिए । त्यसका लागि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अडान पनि राखेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार अल्पमतमा परेपछि नयाँ कोर्श अघि बढ्ने बताए । उनले भने, ‘पहिले माओवादी केन्द्रले समर्थन फिर्ता गर्नुपर्यो । त्यसपछि प्रधानमन्त्री ओलीले संसदबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके सरकार छाड्नुपर्छ । कांग्रेसले यसपछि आफ्नो पोजिशन क्लियर गर्छ ।’

यता, जसपाले भने माओवादी केन्द्रले समर्थन फिर्ता लिए मात्र राजनीतिको नयाँ कोर्स अघि बढ्ने बताएको छ । नेता राजकिशोर यादवले भने, ‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्यो । अनि मात्र सत्ता समीकरणको यात्रा सुरु हुन्छ । समर्थन कायमै राख्ने दोष जसपालाई दिने ?’

उनको यो भनाइ जस्तै अर्का नेता राजेन्द्र महतोले पनि माओवादी केन्द्रकै कारण राजनीतिक अलमलिएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिए जसपा पनि एउटा निर्णयमा पुग्छ । हामीले कसैलाई समर्थन गर्छौं भनेका छैनौं । हाम्रो मुद्दा नै पहिलो प्राथमिकता हो । सत्ताको दौडमा छैनौं ।’

जसपाको दुई धार देखिएको छ । अहिले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु ओलीसँग निरन्तर छलफलमा छन् । नेता यादव भन्छन्, ‘हामीले उठाएका माग पुरा गर्नका लागि आन्तरिक गृहकार्य भइरहेको छ । हाम्रो मुद्दा र सत्ता समीकरणलाई एउटै आँखाले हेर्नु हुँदैन । मुद्दा फरक हो, सत्ता फरक हो । माग पूरा गर्न ओली सरकारले केही काम सुरु गरेको छ । तर, यही नाममा ओलीको निरन्तरतामा जसपाको साथ भन्ने प्रश्न नै गलत हो ।’

जसपाभित्र बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीलाई कुनै पनि हालतमा साथ नदिने पक्षमा उभिएका छन् । अनिर्णयको बन्दी बनेको जसपाको निर्णयको प्रतिक्षामा कांग्रेस उभिएको छ ।

नयाँ समीकरणका लागि दुबै दलले माओवादी केन्द्रलाई औंला सोझ्याएका छन् । उनीहरुले पहिले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अडान लिन थालेका छन् । माओवादी केन्द्रले पनि छिट्टै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्