Logo
Logo

सुन तस्करीमा संलग्न तीन नाइकेविरुद्ध मुद्दा दायर


दृष्टि संवाददाता


काठमाडौं, १९ चैत ।

नेपालबाट भारतमा सुन तस्करीमा संलग्न तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको छ । कपिलवस्तुका सचेतकुमार अग्रवाल, नेपालगन्जका नूर मोहमद र भारतीय नागरिक अंकित अग्रवालविरुद्ध विभागले दुई करोड ९२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

गत १९ पुसमा प्रहरीले नागढुंगामा एक करोड ४७ लाख बरामद गरेको घटनाको अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । कपिलवस्तुबाट काठमाडौं आउँदै प्रदेश ३–०१०२३ च २२५९ नम्बरको कारबाट नगदसहित प्रहरीले भारतीय नागरिक अग्रवाललाई पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा थप दुईजनाको संलग्नता खुलेको होे । विभागले सचेतको कृष्णनगरस्थित घरमा छापा हानी थप ५० लाख रुपैयाँ बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरू नेपालबाट भारतमा सुन तस्करीमा संलग्न भएको खुलेको छ । नूर नेपालगन्जका सुनपसले हुन् । अंकितले भारतमा लगेर बेच्ने काम गर्दथे । उनीहरूले कोसँग सुन किन्थे भन्ने विभागले पत्ता लगाउन सकेको छैन । तीनैजनालाई विभागले पक्राउ गरेकोमा सचेत र नूर नेपाली नागरिक भएकाले उनीहरूलाई धरौटीमा छाडी मुद्दा दायर गरिएको छ भने भारतीय नागरिकलाई भने व्यक्तिसहित अदालतमा उपस्थित गराइएको छ ।
उनीहरुले सुन तस्करी गरेर करोडौं कमाएपनि विभागले त्यसतर्फ अनुसन्धान गरेको छैन । कतिसम्म भने गिरोहका अन्य सदस्यमाथि समेत छानबिन नगरी उन्मुक्ति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्