Logo
Logo

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि


- दृष्टि न्युज/संवाददाता


शव परीक्षणका लागि त्रिवि अस्पताल बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जनाको शव परीक्षणका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौँमा ल्याइँदै । तस्वीरः रासस

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ ।
बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम ढिलाइ हुने भएपछि शुक्रबार बिहान ८ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । यसअघि बिहीबार ३ बजेदेखि टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भनिएको थियो ।
सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्नुहुने उनले बताए। श्रद्धाञ्जलिपछि शव आफन्तजनलाई जिम्मा दिइने बताइएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्