काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ । कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।
यी न्यायाधीशबाहेक तीन जनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ । फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सहि ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन ।
सोही फैसला सदर भएको खण्डमा विशेष महाधिवेशनले मान्यता पाउनेछ । यसअघि न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।
देउवा पक्षको रिटलाई भने त्यतिबेला खारेज गरिदिएको थियो । यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए ।














