Logo
Logo

प्रचण्डले किन कारबाही गरेनन् एमाले प्रवेश गरेका सांसदलाई ?


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लागेका नेतालाई छानी–छानी प्रहार गरिरहेका छन् । दुई दिन अघि मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गरेका ओलीले बिहीबार घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही गरेका छन् ।

चारै जनालाई ६ महिनासम्म निलम्बन गरिएको छ । पार्टीविरोधी गतिविधि गरेको अन्य पार्टीका नेतासँग हिमचिम बढाएको आरोप लगाउँदै ओलीले कारवाही गरेका हुन् ।

तर, नेकपमा माओवादी केन्द्रबाट निर्वाचित सांसद र वर्तमान सरकारका मन्त्रीहरुलाई कारवाही गर्ने विषयमा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरम देखिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताए यता माओवादी केन्द्रको ६ पटक स्थायी समितिको बैठक बसिकेको छ ।

सुरुका दुई बैठकमा माओवादी छोडेर एमाले प्रवेश गरेका सांसद र मन्त्रीलाई स्पष्टीकरण काटेको माओवादीले अझै पनि कारवाही गर्न सकेको छैन । धेरैले यो विषयमा अध्यक्ष ओली र प्रचण्डलाई तुलना गरिरहेका छन् ।

प्रचण्डको भय
माओवादीबाट सांसद बनेर एमालेमा गएका र सरकारमा रहेका सांसदलाई कारवाही नगर्नुको कारण, संसदीय गणित रहेको विश्लेषण हुने गरेको छ । सरकारबाट ओलीलाई हटाउनका लागि आवश्यक पर्ने संसदीय गणितका कारण पनि प्रचण्ड मौन बसिरहेको बुझिएको छ ।

यद्यपि, सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार बनाउने विषयमा ओलीसँग सती गएका अधिकांश सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ । तर, पनि प्रचण्डले देखाइरहेको सदासयताको अर्थ बाहिर आउन सकेको छैन ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दल सम्बन्धी ऐन अनुसार अघि बढ्ने पार्टीमा नीतिगत निर्णय भइसकेको भए पनि कार्यान्वयन नभएको बताएका छन् । उनले पार्टीले चाँडै माओवादी छोडेका नेतामाथि कारवाहीको प्रक्रिया अघि बढाउने बताए ।

ओली सरकारको विदाइ र नयाँ गठबन्धन बनाउनका लागि केही समय पर्खेको भए पनि अब पार्टीले ’बोल्ड डिसिजन’ गरेर अघि बढने उनको भनाई छ ।

गुरुङको भनाइलाई आधार मान्ने हो भने पनि प्रचण्ड बोल्ड डिसिजन गर्ने अवस्थामा छन् । तर, उनका लागि उपयुक्त समय भने होइन । अहिले ओलीले गरेका हरेक निर्णयलाई सुक्ष्म रूपमा हेर्ने र ओली अप्ठ्यारोमा पर्ने स्थिति देखिएसँगै एकै पटक वार गर्ने रणनीति भने हुन सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्