Logo
Logo

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सिटिजन्स बैंकद्वारा युएसडी इ–कम कार्डको सुरुवात


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकैपटक वा पटकपटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गरी अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।

बैंकको अनुसार युएसडी इ–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस कार्डबाट ग्राहकहरुले नेपाल र भारतबाहेकका देशहरुबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदवापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्न तथा पिओएसमार्फत कारोबार गर्न नपाइने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब साढे नौ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्