Logo
Logo

नयाँ सरकार बनाउने एउटा ढोका खुल्याे : प्रमुख सचेतक गुरुङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको निर्णयको स्वागत गरेका छन् ।

शनिबार राजधानीमा आयोजि साक्षात्कारमा बोल्दै उनले भने, ‘ कांग्रेसको हिजो निर्णय स्वागतयोग्य छ ।’ पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगमन भएको उनको भनाइ छ । उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पुनःस्थापना गरेपनि अहिले संसद् सुचारु नभएको उनले गुनासो पोखे ।

प्रधानमन्त्री ओलीको सोच अहिले पनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने, ‘हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन् र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुष ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।’

उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘संविधानतः हामीले पुष ५ गते समर्थन फिर्ता लिएसरह हो । यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो ।’

उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु वा नलिनुको कुै अर्थ नभएको पनि जिकिर गरे । उनले भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन गरिदियो । यो सरकार स्वतः केयर टेकरमा परिणत भइसक्यो । धारा १०२ अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’

उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि पनि आफूहरु खुल्ला नै रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले राजीनामा दिन पनि नमानेको र केयर टेकर भनेर स्विकार पनि नगरेको उनले सुनाए । उनले अब दलहरुको बीचमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव मुभ गर्ने कि समर्थन फिर्ता लिनेबारे जे सहमति हुन्छ त्यसमा आफूहरु ओपन रहेको स्पष्ट पारे ।

उनले संविधानको रक्षा गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘अहिलेको उपलब्धि रक्षा गर्नुपर्छ । पुष ५ गतेपछि संवैधानिक लोकतान्त्रिक गणतन्त्र सिध्याउने ट्रेण्ड देखापर्यो । संविधानका धारा, धफाहरु सबै उल्लंघन गर्दै जाने ट्रेण्ड एण्ड टेण्डेन्सी सरकारबाटै देखापर्यो ।’

उनले संविधानको रक्षा गर्ने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने जनाए । उनले भने,‘अहिले संविधान रोज्ने कि यात प्रधानमन्त्रीज्यू रोज्ने भन्ने स्थिति पैदा भएको छ । यो अवस्थामा हामी अग्रगमनको पक्षमा जानुको विकल्प छैन् ।’ कांग्रेसले हिजो गरेको निर्णयले एउटा ढोका खुलेको भन्दै अब यहीअनुसार प्रक्रिया अघि बढ्ने गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्