Logo
Logo

भारतबाट आएका तीन जनामा कोरोनाको नयाँ ‘भेरिएन्ट’


दृष्टि संवाददाता


महेन्द्रनगर । भारतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमको कञ्चनपुर, डडेल्धुरा र डोटीका एकुएक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय यो फरक किसिमको कोरोना संक्रमण देखापरेको हो । भारतमा अहिले चार किसिमको कोरोना देखिएको छ । उनले भने, ‘अहिलेको भन्दा फरक कोरोना पुष्टि भएको छ । तर कुन प्रकारको हो भन्ने थाहा भइसकेको छैन ।’
उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो । संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन् । संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन् ।
पछिल्लो केही समययता भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्