Logo
Logo

ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी : झलनाथ खनाल


दृष्टि संवाददाता


काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको बताएका छन् ।

आइतबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा नेता खनालले अहिलेको अवस्था आउनुमा ओलीमा रहेको दक्षिणपन्थी अवसरवाद मुख्य जिम्मेवार रहेको दाबी गरे ।

‘ओली सरकारमा एकपछि अर्को भ्रष्टाचारका मुद्दा आउन थाले । पदमा बसेका मान्छे भ्रष्ट छन् भन्ने प्रश्न उठ्न थाले । भ्रष्टाचारकै मुद्दामा एकपछि अर्को मन्त्रीले राजीनामा दिनुपर्‍यो । तर, ओलीले ती प्रश्नको जवाफ आफै दिन थाले, आफै सफाइ दिए । समाजमा कम्युनिष्ट पार्टीले सही काम गर्न सकेनन् भन्ने सन्देश गयो ।’

खनालले अगाडि थपे, ‘यो सबै ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो । दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार–विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ । अहिले भएको यही हो ।’

नेता खनालले ओलीले योग्यता नै नपुगेका पुँजीपतिलाई पार्टीमा भित्राएको पनि आरोप लगाए । ‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए । अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन् । के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन् ?’, खनालले भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन् । विधान विपरीत ओलीले बालुवाटारमा भेला गरेर पार्टीमा पुँजीपती भित्राएका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्