Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : माधव नेपाल समूह समानान्तर किमिटी विस्तारमा ब्यस्तदेखि पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने कुनै अवस्था बाँकी नरहेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, सबै कमिटीमा आफ्नो बहुमत रहेको दावी, कानूनी रूपमा एमाले आफ्नो नभए विकल्प खोज्ने तर्क, ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको झलनाथ खनालको आरोप ।

२. नेकपा एमालेको काठमाडौंमा समानान्तर कमिटी, माधव नेपाल समूहद्वारा बसन्त मानन्धरको नेतृत्वमा अलग्गै जिल्ला कमिटीको घोषणा, उपाध्यक्षमा शोभा सापकोट, सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ चयन, मुलुकभर समानान्तर गतिविधि बढाउने समूहको निर्णय ।

३. नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकद्वारा सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय, चैत ४ गतेको सरकारलाई दिएको समर्थन फिर्ताको प्रस्तावलाई सदर गर्दै मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने, एमाले प्रवेश गरेका दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीद्वारा दल त्याग गरेको प्रदेश सभा सचिवालयलाई सूचना ।

४. नेकपा (माओवादी केन्द्र) बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई सदस्यको निलम्बन गर्ने प्रक्रिया सुरु, संसदीय दल लुम्बिनीले प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी दलमा नरहेको जानकारीसहितको पत्र प्रदेश सभामा दर्ता, राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था अकार्षित हुने ।

५. चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चैत २५ देखि प्रयोगमा ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय, खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिका साथै हिमालय सीमापार व्यापार गर्नेहरू र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने विद्यार्थीलाई दिइने मन्त्रालयद्वारा जानकारी ।

६. डेडिकेटेड र ट्रंक लाइन सुविधाको १० अर्ब १४ करोड रकम एक महिनाभित्र असुल गर्न लेखा समितिको सरकारलाई निर्देशन, व्यापारीले लोडसेडिङको समयमा पनि २४ घण्टा लाइन लिएर विशेष सुविधा उपभोग गर्ने तर भुक्तानी नगरेकाले कारबाही पनि गर्नुपर्ने सांसदहरूको माग, शक्तिकेन्द्रलाई आडमा लिएर छुट लिने सम्भावना रहेकाले छिटो रकम असुल गर्नुपर्ने सुझाव ।

७. एसिड प्रहारका घटनाहरु तीव्र हुन थालेपछि सरकारद्वारा खरिदबिक्रीमा कडाइ गर्न सुरु, कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने निर्देशन गृह मन्त्रालयद्वारा सूचना जारी, अटेर गरे नियमानुसार कारवाही गर्ने चेतावनी ।

८. सेयर बजारमा नयाँ रेकर्ड, नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा, २५ दशमलव ७१ अंकले बढेर २ हजार ६ सय ५७ दशमलव ६१ विन्दुमा पग्यो, रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा ३६ गुणा भन्दा बढी आवेदन, सातामै बैंक ऋण ३८ अर्ब रुपैयाँले बढ्यो, निक्षेपभन्दा ऋण बृद्धि दर उच्च, तरलतामा कमी आउँद, पेट्रोलियम पदार्थमा पुनः दुई रुपैयाँको मूल्य वृद्धि, पेट्रोल लिटरकै एक सय २० रूपैयाँ कायम ।

९. कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त,सुन्दर फुटबल खेल्ने टिम बनाउने लक्ष्यका साथ नेपालको प्रशिक्षक बनेको भनाइ, त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा, मंगलबारबाट तयारी सुरु, मच्छिन्द्र आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिर, अफ्रिकन रूट्स सेमिफाइनलमा ।

१०.र, भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु, २२ घाइते, फ्रान्समा तेस्रो पटक लकडाउन, संक्रमित राख्न अस्पतालमा बेड अभाव, भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप ९२ हजार संक्रमित, बलिउड अभिनेता अक्षय कुमार र गोविन्दालाई पनि कोरोेना पुष्टि, फिलिपिन्समा फेरि बढाइयो लकडाउन, इन्डोनेसियामा बाढीबाट थप २० जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्