Logo
Logo

श्रीलंका पुलिसमाथि आर्मीको सानदार जित


दृष्टि संवाददाता


काठमाडौं । एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल
क्लबले शान्दार जित निकालेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मीले श्रीलका पुलिस स्पोर्ट्सलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई शान्दार जित दिलाउनको लागि नवयुग श्रेष्ठले दुई, सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले समान एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्स एसान्तेले गरेको गोल सान्त्वना बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

खेलको २८औं मिनेटमा इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई १–० को अग्रता दिलाए । उनले इसाक एडेभुको पासमा गोल गरेका थिए ।

४१औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । उनले विकास खवासको थ्रु बललाई विपक्षी खेलाडीले क्लियर गरेको बललाई बक्सबाहिरबाट गोल गरेका थिए ।

४३औं मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

५०औं मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई श्रीलंका पुलिस स्पोर्ट्स क्लबका गोलरक्षक दिनेश महेन्द्रनले बचाउने प्रयास गरेपनि टंक बस्नेतले पोस्ट नजिकैबाट वान टचमा गोल गर्दै आर्मीलाई ३–१ ले अघि बढाए ।

७६औं मिनेटमा इभान्सको प्रहार क्रसबारमा लागेर फर्कदा श्रीलंका पुलिस गोलअन्तर कम गर्नबाट चुक्यो । ८३औं मिनेटमा सब्सिच्युट सुदिल राईले गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए ।

६३औं मिनेटमा टंक बहादुर बस्नेतको स्थानमा मैदान प्रवेश गरेका सुदिल राईले सन्तोष तामाङसँगको वान टु वान पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुदिल राईको प्रहार क्रसबारमा लागेर फर्कदा आर्मीले थप अग्रता बढाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै आर्मीलाई ५–१ को सानदार जित दिलाए ।

एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्ने हुन्छ । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ ।

आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । अब आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्