Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशनदेखि बिस्केट जात्रा नरोक्न सर्वोच्चको आदेशसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्दै, कोरानाको बेलायती भेरिएन्ट फैलिएको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन जारी, रात्रिकालीन व्यवसाय ९ बजेपछि सञ्चालन गर्न रोक, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन ।

२. कोरोना भाइरसको त्रास फैलिएसँगै यस वर्षको बिस्केट जात्रा नगर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतको फैसला, जात्रा नरोक्न अन्तरिम आदेश जारी , स्वास्थ्य मापदण्ड पालना गरेरै भएपनि जात्रा सम्पन्न गर्ने भक्तपुर नगरपालिकाको तयारी, जात्रा नहुने निर्णयले आक्रोशित भक्तपुरवासी अदालतको आदेशसँगै उत्साहित, विवाद बढ्ने सम्भावित घटनालाई मध्येनजर गर्दै वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथयात्रा पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने ।

३. गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरियो, माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाए राजीनामा, माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमै, पार्टीहरूका कारण मुलुक अन्धकारतर्फ धकलिँदै गएको मुख्यमन्त्री गुरुङको गुनासो ।

४. संविधान र व्यवस्था बचाउनका निम्ति राजनीतिक दलहरूबीच समझदारी हुनुपर्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड, मुलुकमा विभिन्न जालझेल रहेकाले जनता र राष्ट्रको पक्षमा शक्ति निर्माण गर्ने आफ्नो उद्देश्य रहेको प्रचण्डको दावी, प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको प्रचण्डको आरोप ।

५. केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने निर्णय गरेर कांग्रेस मौन बसेको आरोपमा सभापति शेरबहादुर देउवाको स्पष्टीकरण, नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेको तर्क, संख्या सुनिश्चित भएपनि पुनः राजनीतिक दलबाट धोका हुन नहुने माग, कांग्रेसले स्पष्ट अग्रसरता नलिँदा एमालेको सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको माओवादी केन्द्रका नेताको आरोप ।

६. नेपाललाई चीनले अनुदानमा दिएको कोरोना (कोभिड–१९) विरुद्धको भेरोसिल्ड खोप बुधबारदेखि लगाउन सुरु, काठमाडौं उपत्यकामा १४ केन्द्र गरी देशभर २३ खोप केन्द्रबाट खोप लगाइँदै, खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने ।

७. एम्नेस्टी इन्टरनेसनलद्वारा नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक, प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ मार्फत न्यायिक अनुमति बिना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख, सत्तारुढ दलले द्वन्द्वकालिन अपराधमा संलग्न भएकाहरुलाई पूर्ण र स्वतन्त्र अनुसन्धानविना शक्तिशाली पदहरुमा नियुक्ति गर्ने कार्य जारी राखेको पनि प्रतिवेदनमा समावेश ।

८. लगातार तीन दिन सम्म बढेको सेयर बजारमा झिनो अंकको करेक्सन, सात अर्ब बढीको कारोबार, थप ६ जिल्लामा लागू भयो स्वास्थ्य बीमा योजना, बीमालाई बोझका रुपमा नलिन आग्रह, नेपाल लाइफको शेयर स्पिलिट गर्न परेको निवेदनमा समितिले अध्ययन गर्ने, रिपोर्टको आधारमा निर्णय हुने, अनेरास्ववियुद्वारा अर्थमन्त्रीलाई भेटेर प्रत्येक बैंक शाखाबाट २० जना विद्यार्थीलाई सर्टिफिकेट ऋण उपलब्ध गराउन माग ।

९. विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा, पोखरा रंगशालामा भएको खेलमा संकटाद्वारा एपीएफ दुईका विरुद्ध शून्य गोल अन्तरले पराजित, एएफसी कपमा आर्मीको विजयी सुरुवात, श्रीलंका पुलिस ५–१ ले पराजित, नेपाली क्रिकेट टिमको तयारी सुरु, मलेसिया र नेदरल्याण्ड्स चैत अन्तिममा काठमाडौं आइपुग्ने, शुक्रबारदेखि नयाँ नियमका साथ आइपिएलको १४ औं संस्करण, ९० मिनेटभित्रै पहिलो इनिङ सकाउनुपर्ने ।

१०.र, ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु, अमेरिकाका सबै वयस्कलाई अप्रिल १९ देखि कोभिडविरुद्धको खोप लगाइने, भारतमा संक्रमितको संख्यामा रेकर्ड, एकैदिन १ लाख १५ हजार संक्रमित, आर्थिक वृद्धिदरमा भारतले चीनलाई उछिन्ने आईएमएफको प्रक्षेपण,विश्वका धनाढ्यहरूको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस पहिलो नम्बरमा ।

प्रतिक्रिया दिनुहोस्