Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई क्युआरकोड र पिओएस मेसिन हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औँ वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआरकोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहीबार क्युआरकोड र पिओएस मेसिन हस्तान्तरण गरेका हुन् ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्युआरकोड र पिओएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् । सो समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवतासम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकामा आभार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र स्वास्थ्योपचारका लागि सेवाग्राहीले अब नगद बोकेर हिँड्नुनपर्ने जानकारी दिए ।

विसं २०४० बाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । कार्यकममा पूर्व प्रहरी महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्