Logo
Logo

नाईहरूको व्यवसाय विस्तारमा प्राइम बैंकले सघाउने


दृष्टि संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कपाल काट्ने पुख्र्यौली पेसा रहेका नाईहरूको संगठन नेपाल नाई ट्रेड युनियनसँग सम्झौता गरेको छ । बैंकले उनीहरूको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले सम्झौता गरेको हो ।

सम्झौताअनुसार उनीहरूको पेशालाई व्यवसायीकरण गर्ने उद्देश्यले संगठनका सम्पूर्ण बैंकिङ सेवा–सुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य रहेको बैंकले जनाएको छ । साथै, बैंकले सदस्यहरूलाई दुर्घटना एवं अस्पताल भर्ना बिमालगायतका सुविधा प्रदान गर्ने जनाइएको छ । बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरूको प्राइम बैंकमा संस्थागत, व्यावसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था मिलाउने जनाएको छ ।

व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यलाई पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, परिवारका दुईजनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले दुई वर्षभित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाखबराबरको दुर्घटना बिमा र २५ हजारबराबरको अस्पताल भर्ना बिमा उपलब्ध गराउने जनाइएको छ ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्युआर कोडको व्यवस्था गर्ने र यसमार्फत कारोबार गरेबापत यो सम्झौता मितिले पहिलो तीन महिनासम्मका लागि कारोबारमा प्रोत्साहनस्वरूप बैंकले प्रतिकारोबार ५ रुपैयाँ थप गरिदिने जनाएको छ ।

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रतिऋणी ५० हजारदेखि २ लाख रुपैयाँसम्म सरल प्रक्रियाबाट सामूहिक लगानी गर्ने जनाइएको छ । आवश्यक्ताका आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्