कर्मभूमिबाटै माइती देशको चिन्ता « Drishti News – Nepalese News Portal
Logo

कर्मभूमिबाटै माइती देशको चिन्ता


छविरमण सिलवाल


उपदेश दिँदादिँदै
अनायास
मेरो कोमल छातीमा
थपक्क खस्यो आमाको शिरको फूल
त्यही फूलको स्पर्शले
म झल्याँस्स ब्यूझिएँ ।

हङकङलाई कर्मभूमि बनाएर अक्षर कर्ममा लागेकी चेली सुनिता गिरीको ‘माइत जाने बाटो’ कवितासङ्ग्रह २०७४ मा नै प्रकाशित भएको रहेछ । र, २०७७ मा दोश्रो संस्करण प्रकाशित भएपछि मात्र मेरो हातमा पर्यो । कविता संग्रह प्रकाशित भएको समाचार त पढेकै थिए । तर, उनको कविता कृति प्राप्त हुन सकेको थिएन, गीतकार तथा मेरा परम मित्र वसन्तराज अज्ञातमार्फत पढ्ने अवसर प्राप्त भयो ।

हुनतः नेपालमा धेरै कविहरु छन्, धेरै कविता लेखिन्छ तर, कविता पढ्ने र कविताका कृति किन्ने व्यक्तिहरु कमै देखिन्छन्, भनिन्छ । त्यही धेरैबाट सार निस्कने हो, जसरी थोरै घिउ निकाल्न ठेकीभरी दही चाहिन्छ । त्यसकारण हामी जति धेरै साहित्य कर्ममा लागेकाछौं, त्यति नै उम्दा साहित्य सिर्जना हुन्छ भन्नेमा ढुक्क छौं । त्यसकारण सिर्जनाहरु धेरै नै लेखिनुपर्छ जस्तो मलाई लाग्छ । प्रसंग ‘माइत जाने बाटो’कै हो ।

यही कृतिको आधार टेकेर नै मैले यी कुराहरु गर्न सकेको हुँ । कविताका किताबहरु नबिक्ने र नपढिने भन्नेहरुको लागि ‘माइत जाने बाटो’को दोश्रो संस्करण गतिलो झापड पनि हुन सक्छ । कवितै नबिक्ने भए कसरी प्रकाशकले दोश्रो संस्करण निकाल्छ त ? हो यसको जवाफ खोज्नको लागि पनि ‘माइत जाने बाटो’का कविताहरु पढ्नुपर्ने सुझाव दिन चाहन्छु ।

हुनतः मैले सुनिता गिरीलाई भेटेको छैन, नभेटेपछि चिनजान कसरी हुनु र ? तैपनि उनको कृति पढिरहँदा मलाई उनी वर्षौदेखि परिचित आफ्नै चेली जस्तो लागि रहेछ । परिस्थितिले कर्मभूमि हङकङमा आफ्नो कर्मका बिजहरु उमारीरहेकी उनी अक्षरहरुमार्फत आफु र आफ्नो परिवार कुशल रहेको समाचार सम्प्रेषण गरिरहेकी छिन्, माइतीलाई । यो हामी माइतीहरुको लागि खुशीको कुरा हो ।

हामी हाम्री चेली जहाँ रहेपनि खुशी देख्न चाहन्छौं, हाम्री चेलीको खुसी हाम्रो खुसी हो । र, नेपाली कवितामा उनको उपस्थिति हाम्रो लागि पनि खुसीको कुरा हो ।

समग्र मानवीय संवेदनाहरू चित्रण गरिएका कविता संधैँ उत्कृष्ट ठहरिन्छ । सुनिताका कविताहरू यही कोटीमा पर्दछन् । उनका कवितामा मानवीय पक्षहरु थुप्रै भेटिन्छन् ।

आधुनिक सभ्यताको नमुना सहर हङकङमा रहेर पनि आफ्नो संस्कृति, नेपालीपन र नेपाली भाषासाहित्यमा तनमनका साथ लागि परेकी सुनिताका यी कविताहरु प्रवासका आँसुका भेल नभएर समग्र मानव समुदायका चेतनाका झिल्काहरुको रुपमा लिन सकिन्छ ।

प्रवासलाई कर्म भूमि बनाएर धेरै स्रष्टाहरुले सिर्जना गरेका देखिन्छ । यसैक्रममा सुनिताको काव्यिक यात्राले दोश्रो संस्करणसम्मको यात्रा गर्नु उनको कविता शक्तिले नै हो । उनका कविताहरु सरलतामा कलात्मक रहेका छन्, सलल वगेका कञ्चन नदी जस्तै । जसरी नदीमा विभिन्न जीवजन्तुहरु निस्फिक्री पौडीरहेका दृष्यहरु हेर्दा हामीलाई रमाइलो लाग्छ, उनीहरुको संंसार देख्दा हामी रमाउँछौ ।

जीवहरुको त्यो अलग संसारको अस्तित्वसंग जीवहरु अनविज्ञ छन् । हामी पनि हाम्रो अस्तित्वप्रति अनविज्ञ नै छौ । तथापि, हामी हाम्रो जीवनको उद्देश्यप्रति स्पष्ट छौँ । हो, सुनिताका कविताहरुको उद्देश्य पनि स्पष्ट रुपमा हामीले देख्न सक्छौं । मानवीय मूल्यको पक्षमा उभिएका यी कविताहरु मानव जीवन र जगतलाई हेर्ने आँखिझ्यालभन्दा पनि हुन्छन् । उनी यस कविता यात्रामा स्पष्ट छिन । र, अफ्नो अनुभूति यसरी व्यक्त गर्छिन ।

‘कविताको साँघुरो गोरेटो छिचोल्दै यतिखेर म चौबाटोमा आइपुगेकोछु । यहाँसम्म आइपुग्दा साँघुरो भए पनि एउटा मात्रै थियो, बाटो । अब यहाँबाट अघि हिँड्नको लागि प्रशस्त छन्, बाटाहरु । सोचिरहेकी छु, अब कुन बाटो जाने होला ? डराइरहेकी छु ।

कहाँ पुग्छु होला ? मलाई डोर्याउने अबको बाटोले कहाँ पुर्याउँछ होला ? चिन्तासँगै उत्सुकता थपिएको छ, यात्रामा । रहस्यहरुले, प्रश्नहरुले, चुनौति एव्म अवसरहरुले पछ्याउँदो रहेछ, यात्रामा । हो, यसबेला म नहिँडूँभन्दा पनि हिँड्नैपर्ने जस्तो कविता यात्रामा छु । यद्यपि, मैले कविताहरुलाई डोर्याइरहेकी छु कि कविताहरुले मलाई डोर्याइरहे छन् ।

ठ्याक्कै भन्न सक्दिनँ । जे भए पनि संवेदनशील दुर्घटनाहरुमा मलाई हरप्रहर जोगाउने र जीवनको प्रत्येक विरक्तिहरुमा, बिरानीहरुमा प्रेमले सम्झाउने, मलाई सदा नियन्त्रण गर्ने, मेरै प्रछायाँजस्ता यी कविताहरुलाई न म अब त्याग्ननै सक्छु न यी कविताहरुले मलाई बेप्रवाह भुल्न नै सक्दछन् । त्यसैले एक आमाका लागि आफ्ना सन्तानको माया जुन सीमासम्म हुन्छ, एक कविका निम्ति उसका कविताहरुका माया त्यही सीमासम्म हुन्छ । यसकारण यी कविताहरु मेरा सन्तानहरु हुन् ।’

उनका कविताहरुमा प्रकृति प्रेम, मातृत्व प्रेम, नारीप्रतिको स्नेह र उनीहरुको स्वतन्त्रताको कुरा, कर्मभूमिका सौन्दर्यताप्रतिको स्नेह, कर्मभूमिबाटै माइती देशको चिन्ता, देशप्रतिको स्नेह लगायत मानवीय संवेदनाका सामूहिक स्वरहरु प्रज्वलित छन्, ‘माइत जाने बाटो’ संग्रहका कविताहरुमार्फत ।

सरल भाषा तथा सरल विम्बमार्फत गम्भीर उद्घोष गरिएका यी कविताहरु वर्तमानका महत्वपूर्ण दस्तावेजहरु पनि हुन् ।
समयका वाछिटाले हानेका हामीले भोगेको कुरूप समय साथै प्रेम, प्रकृति, राष्ट्रियप्रेम, मानव जगत्का यावत भोगाई कविताका विषय बनेका छन् । सुनिताको कविता प्रस्तुत गर्ने शैली निकै सुन्दर छ । जे जस्तो भोगाई पनि सहने क्षमता राख्न सक्नुपर्छ भन्ने सकारात्मक सोच व्यक्त भएका छन्, उनका कवितामार्फत ।

जे जस्तो ठक्कर पाए पनि हामी हाम्रै समाजका हौं, हामीले सधैं प्रेम गर्नुपर्छ हाम्रो समाजलाई भन्ने चाहना उनको छ । उनले कवितामार्फत यी सन्देशहरू प्रवाहित गर्न खोजेका छन् । उनका कविताहरू सुनौला घामका किरण जस्तै सुन्दर छन् ।

जसरी घामका किरणले आफू दुर्गन्धित नभैकन संसारका दुर्गन्धहरूलाई नाश गर्छन, त्यसरीनै उनका कविताहरूले हाम्रो समाज नै यस्तै छ त के गर्ने ? यसैमा हामी रमाएर समाधान खोज्नु पर्छ भन्ने मूल सन्देश प्रवाहित भएका छन् ।

जीवन र जगत्बारेका चिन्तनहरू कवितामार्फत पोखिएका छन् । उनका कविताहरू पढ्दा लाग्छ, ‘हामीले हाम्रै जीवन पढिरहेका छौं ।’ समाजका हरेक यथार्थलाई टपक्क टिपेर कवितामार्फत प्रस्तुत गर्न खप्पिस छन् ।

समाजमा घटित विकृतिप्रति प्रहार गर्नुको साथै गलत कुराहरूलाई सजग गराई रहेका हुन्छन्, कवितामार्फत । उनी कवितामार्फत उज्यालोको खोजी गर्छन, उन्मुक्तिको कामना गर्छन् । कवितामार्फत समुन्नत जीवनको कामना गरिरहेका हुन्छन् ।

‘कविता अप्ठेरोमा पर्ला अर्कै कुरा भयो । तर यो विधा कहिल्यै एक्लिने छैन । मानिस युद्धमा, भोकमा, अभावमा, त्रासदीमा केही समय कविताबाट बिमुख रहला तर ऊ एक दिन शान्त, उज्यालो र महान् मानवीय गोरेटोमा फर्कन्छ र कवितालाई फेरि अँगाल्छ, प्रेम गर्छ । मेरो विश्वास छ, कविताले लगातार मानवीयकरणको खेलमा भाग लिइरहन्छ । वस्तुमा, भावमा, दृष्टिमा, जीवन भरिरहन्छ र आफ्नो जगत् फेरि निर्माण गर्छ ।’

चर्चित कवि मनु मञ्जिलका यी भनाईहरूले कविता मानव जीवनका अङ्गकै रूपमा रहेको दर्शाउछ । समग्र मानवीय संवेदनाहरू चित्रण गरिएका कविता संधैँ उत्कृष्ट ठहरिन्छ ।  सुनिताका कविताहरू यही कोटीमा पर्दछन् । उनका कवितामा मानवीय पक्षहरु थुप्रै भेटिन्छन् । सुनिताको काव्ययात्रा अझै चुलिदैँ जानेछ, शुभकामना ।

फर्की आउँदा
यो प्रवासमा
देशको अलिकति माटो
बोकी ल्याउँला सोचेको थिएँ
विर्सिएछु ।

प्रतिक्रिया दिनुहोस्