Logo
Logo

कांग्रेसले थाल्यो महाधिवेशनको तयारी, आज केन्द्रीय समिति बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सत्ता समीकरणको प्रयासलाई थाँती राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । सत्ता समीकरणका लागि माओवादी केन्द्र र जनता समाजवादी (जसपा) सँग संयुक्त छलफल समेत चलाएको कांग्रेसले जसपाको निर्णायक जवाफ नआउँदासम्म नयाँ समीकरणबारे थप छलफल नगर्ने संकेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी र जसपासँगको छलफललाई जारी राख्दै महाधिवेशनको तयारीमा कांग्रेस जुटेको जानकारी दिए । उनले भने, ‘सत्ता समीकरणका बारेमा कांग्रेसले नेतृत्वका लागि प्रस्ताव गरिसकेको छ, जसपाको जवाफको प्रतिक्षामा छौं । तर, पार्टीको महाधिवेशन भदौमा गर्नैपर्ने भएकाले हामी त्यतातर्फको छलफलमा जुटेका छौं ।’

आज (सोमबार) बोलाइएको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक कार्यतालिका परिवर्तनबारे छलफल गर्ने प्रवक्ता शर्माले जानकारी दिए । पार्टी केन्द्रीय यकार्यालय सानेपामा दिउँसो दुई बजे बस्‍ने बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्‍न‍ प्रस्ताव पेस गर्ने तयारी छ ।

यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटक–पटक थप्दै आएको कांग्रेसमा पुनः थप्‍ने तयारी भएको हो । यसअघि बनाइएको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि आजसम्मका लागि तोकिएको थियो ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद थप्‍ने विषयमा छलफल भएको थियो ।

काग्रेसको १३ औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्य थिए । अहिले त्यो संख्या दोब्बर पुर्‍याउने गरी थप्‍ने लक्ष्य कांग्रेसको छ । आजको बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेस गरेकाहरूलाई संगठनमा समायोजन गर्ने विषयमा देखिएको विवाद समाधान र समयम बढाउने विषयमा प्रस्ताव पेस हुनेछ ।

कांग्रेसले गठन गरेको अन्य पार्टीबाट कांग्रेस प्रवेस गरेकाहरूको समायोजन समितिका संयोजक पार्टी उपसभापति विमलेन्द्र निधिले प्रस्ताव पेस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्