Logo
Logo

कोरियाले नेपाली सहितका कामदारको भिसा एक वर्ष थप्यो


दृष्टि संवाददाता


काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लान नसकेपछि त्यही रहेका कामदारलाई एक वर्षको थप भिसा दिनेभएको छ । सबै कामदारको एक वर्ष कार्यअवधि स्वतः थपिने गरी जारी गरिएको नियम आजबाट (मंगलबार) लागु भएकोछ ।

कोरोनाको महामारी सुरु भएपछि कोरियाले नयाँ कामदार ल्याउन ढिलाइ गरिरहेको छ । कमिटेड कामदारका रुपमा केही देशबाट कामदार आएका भएपनि नयाँ कामदार माग अनुसार ल्याएको छैन । वार्षिक ५० देखि ६० हजार ईपीएस मार्फत विदेशी कामदार कोरिया आउने भएपनि अहिले नगन्य मात्रामा कामदार कोरिया आएका छन् ।

कार्यअवधि सकिएका कामदार स्वदेश जाने क्रम बढ्दै गएपछि कोरियामा विदेशी कामदारको अभाव हुँदै आएको छ । केही समयअघि पनि कृषि क्षेत्रमा काम गर्ने कामदारको अभावलाई कम गर्न ईपीएस मार्फत यहाँ आएर भिसा सकिएका कामदारलाई कृषि क्षेत्रमै काम गर्ने गरी मौसमी कामदारको एक वर्षको भिसा दिएको थियो ।

तर अन्य क्षेत्रमा पनि कामदार अभाव हुँदै गएपछि अप्रिल १३ देखि आउँदो डिसेम्बरको अन्तसम्म कार्यअवधि सकिने कामदारलाई १ वर्षको भिसा थपिने भएको भएको हो । चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि विभिन्न कारणले स्वदेश फर्कन नसकेकाहरुलाई ५० दिनको भिसा दिँदै आएको छ । यस्ता भिसामा रहेकाहरुलाई पनि १ वर्षको भिसा थपिने भएको छ ।

ईपीएस मार्फत कोरिया आएका कामदारले पहिले ३ वर्ष र कम्पनीलाई कामदार मन परे थप एक वर्ष १० महिनाको बोनस भिसा पाउँदै आएका छन् । अब भने ३ वर्ष कार्यअवधि सकाएकाको स्वतः एक वर्ष कार्यअवधि थप हुनेछ भने बोनस भिसाको रुपमा एक वर्ष १० महिना पनि काम गर्न पाउनेछन् ।

त्यसैले अब ईपीएस प्रणाली मार्फत कोरिया आएका कामदारहरुको कार्य अवधि ५ वर्ष १० महिना हुने भएको छ । साथै पाँच पटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने नियमलाई थप खुकुलो बनाउँदै पाँच पटक कम्पनी परिवर्तन गरिसकेकाले पनि थप एक पटक कम्पनी परिवर्तन गर्न पाउने भएको छ । मंगलबारदेखि सुरु हुने नयाँ नियमबाट नेपाल लगायत १६ देशका कामदार लाभान्वित हुनेछन् । यो समाचार आजको कान्तिपुरमा छ ।

 

प्रतिक्रिया दिनुहोस्