Logo
Logo

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी’


दृष्टि संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गरेका छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको मंगलबार राजधानीमा उद्घाटन गर्दै मन्त्र िज्ञवालीले मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले भने– ‘उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समाजका हरेक वर्ग, पेशा–व्यवसायका व्यक्तिलाई इमानदारीपूर्वक आ–आफ्नो क्षेत्रबाट योगदान गर्न गर्नुभएको आग्रहको स्मरण गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर सरकारले हरसम्भव काम गरिरहेको बताताए ।

मन्त्री ज्ञवालीले विकास नीतिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले अल्पविकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिका निम्ति गरेको सिफारिश नेपाल र नेपालीका निम्ति गौरवको विषय भएको बताउँदै विकासशील राष्ट्रमा रुपान्तरण हुन अझै धेरै काम गर्न बाँकी रहेको यथार्थ सुनाए । उले सन् २०३० अगावै राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती पनि थपिएको बताएका थिए । ‘दृढ सङ्कल्पका साथ लागेपछि जस्तासुकै चुनौतीलाई परास्त गर्नसकिन्छ विकास अनुसन्धान प्रतिष्ठानजस्ता प्राज्ञिक समूहहरूको साथ र सहयोग त्यस निम्ति अपरिहार्य छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्