Logo
Logo
टिप्पणी

दिल्लीमा ज्ञानेन्द्रलाई रातो कार्पेट !


दृष्टि संवाददाता


देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेको छ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ ।

चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाट हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगे । पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देहरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ ।

चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको संचार माध्यमहरुमा समाचार प्रकाशन भएका छन् । उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायत भाजपाका नेता सहभागी हुने बताइए पनि मोदी उपस्थित भएनन् ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइको सरकार ढल्नु, सर्वोच्च अदालतले एमाले–माओवादीको एकीकरण रद्द गर्नु र प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक नयाँ जनादेशमा जाने कुरा दोहोर्याइरहनु, उता यही मौकामा पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राटको उपाधि दिएर बोलाउनु संयोग मात्र होइन, नियोजित षड्यन्त्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न लागेको र संस्थागत गर्न संविधान निर्माणको अन्तिम तयारी भइरहेको बेला भारतीय प्रधानमन्त्री मोदी यो संविधानप्रति असन्तुष्ट थिए । र, त्यसलाई रोक्न तत्कालीन भारतीय विदेशसचिव एस जयशंकरलाई विशेषदूतका रुपमा नेपाल पठाएका थिए । भारतीय असन्तुष्टिका बाबजुद नेपालको संविधान जारी भयो । त्यसलगत्तै भारतीय नाकाबन्दी खेप्नुपर्यो ।

यस घटनाबाट भारतीय संस्थापन पक्ष यो संविधानप्रति असन्तुष्ट थियो भन्ने बुझिन्छ । त्यही असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर यो संविधानलाई कागजको खोस्टोमा परिणत गर्ने दुष्प्रयास गरे । तर, प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर फागुन ११ गते खारेज गरिदियो । फेरि पनि कम्युनिष्टकै सरकार बन्ला कि भनेर सर्वोच्च अदालतमार्फत फागुन २३ गते नेकपा विघटन गराइयो ।

ओलीले संसद् विघटन गर्नु अगाडि देशभरि राजावादीहरुको जुलुस निस्कनु, विघटन भइसकेपछि राजावादी मौन बस्नु र दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रलाई रातो कार्पेट बिछ्याउनु संयोग मात्र होइन, यो संविधानमाथि संकट आइपरेको संकेत पनि हो ।

अब संसद्मा कम्युनिष्टको बहुमत भए पनि कम्युनिष्टको सरकार बन्ने सम्भावना छैन । गैरकम्युनिष्टको सरकार पनि बन्न सकेको छैन । जसमा भारत निकट जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो बाधक बनेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न इच्छुक नदेखिनु र जसपाका नेता ठाकुर र महतोले ओली सरकारमा संलग्न भएर निर्वाचनमा जाने तयारी गर्नु राजनीतिक अस्थिरतालाई लम्ब्याएर विदेशी शक्तिलाई ‘स्पेश’ दिनु हो भन्ने राजनीतिक विश्लेषण छ ।

विश्लेषकहरुका अनुसार संसद् विघटन गर्नुको उद्देश्य नै निर्वाचनमा जाने र कम्युनिष्टहरुलाई पत्तासाफ गर्नु हो । यो कुरा प्रधानमन्त्री ओलीले नबुझेका होइनन् । तर उनी बाध्यतामा छन् । त्यसैले फेरि पनि कुनै दलको सरकार बन्न नदिने, ओलीबाटै नयाँ निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचन हुन नदिएर यो संविधान नै खारेज गर्ने खेल पर्दा पछाडिबाट भएको छ ।

त्यही खेलमा ओली रमाइरहेका छन् । ओलीले संसद् विघटन गर्नु अगाडि देशभरि राजावादीहरुको जुलुस निस्कनु, विघटन भइसकेपछि राजावादी मौन बस्नु र दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रलाई रातो कार्पेट बिछ्याउनु संयोग मात्र होइन, यो संविधानमाथि संकट आइपरेको संकेत पनि हो ।

प्रतिक्रिया दिनुहोस्