Logo
Logo

बक्रदृष्टिः नेकपा चट् भएपछि चित्रबहादुर केसी ट्वाँ !


दृष्टि संवाददाता


बुच्चे नक्सा !
महान् राष्ट्रवादी नेता केपी शर्मा ओलीले बडो फूर्तिका साथ लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा प्रकाशित गरे । उनको यो महान् कामलाई सार्वभौम संसद्ले समर्थन जनायो । सबैतिर ओली वाहवाहीको पात्र बने ।
तर, तिनै ओली प्रधानमन्त्री भएको बेला राष्ट्रपतिबाट वितरण गरिएको तक्मामा चुच्चे नक्सा होइन, बुच्चे नक्सा प्रदान गरियो । यो कुरो त अलि हजम भएन नि ? कसो ईश्वर कमरेड ?

चित्रबहादुर ट्वाँ ?
सर्वोच्च अदालले फागुन २३ गते गरेको फैसलाले नेकपा भंग गरेपछि त्यसको असर संघमा मात्र होइन, प्रदेशमा समेत परेको छ ।
गण्डकी प्रदेशमा एमालेका २७ सांसद् छन् । गण्डकी प्रदेशमा आफ्नो सरकार जोगाउन जनमोर्चाको साथ चाहिन्छ । तर, जनमोर्चाले एमाले चिन्दैन । किनभने, त्यतिबेला जनमोर्चाले नेकपालाई मत दिएको थियो । अब नेकपा चट् भएपछि के गर्ने भनेर विचरा चित्रबहादुर केसी ट्वाँ परेका छन् ।

बाबुरामको हाँसो !
ओलीले पुस ५ गते संसद् विघटन गरेपछि एमाले, कांग्रेस र जसपा प्रतिगमनकारी र अग्रगमनकारीमा विभाजित भएको छ । यी पार्टीका नेताहरु कुकुर बिरालो जस्तै बाझाबाझ गरिरहेका छन् ।
एमालेमा ओली प्रतिगमनकारी, माधव नेपाल अग्रगमनकारी, कांग्रेसमा देउवा प्रतिगमनकारी, रामचन्द्र अग्रगमनकार र जसपामा महन्थ ठाकुर प्रतिगमनकारी, उपेन्द्र यादव अग्रगमनकारी भएर देखिएका छन् । उपेन्द्र यादवभन्दा महन्थ ठाकुर पाका नेता भए पनि उनको भन्दा परिपक्व बुद्धि त उपेन्द्रकै रहेछ । त्यही भएर उपेन्द्रले प्रतिगामीको पक्षमा जानु हुन्न भन्दाभन्दै दिनहुँ लुरुलुरु महन्थ ठाकुर बालुवाटार गएको देखेर डा. बाबुराम भट्टराई पेट मिचीमिची हाँसेका छन् ।

पूर्वराजा दंग !
नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्वराजाबाट सम्बोधन गरिने ज्ञानेन्द्र शाहलाई भारतको एउटा धार्मिक समारोहमा ‘श्री ५ महाराजधिराज सरकार’ भनेर निम्ता गरियो ।
त्यही निम्तो स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र शाही स्नान गर्न हरिद्वार पुगे । हरिद्वारमा जम्मा भएका हजारौं जोगीले महाराजधिराजको जयजयकार गरे । यसैमा पूर्वराजा ज्ञानेन्द्र दंग छन् । कसो, कमल थापाज्यू ?

(व्यङ्ग्यात्मक प्रस्तुति ‘बक्रदृष्टि’ दृष्टि साप्ताहिकको स्तम्भ हो ।)

प्रतिक्रिया दिनुहोस्