Logo
Logo

षड्यन्त्रमुलक ढंगबाट नेकपा विभाजन गरियोः प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियाबादीले षड्यन्त्रमुलक ढंगले विभाजन गरेको बताएका छन् ।

नयाँ वर्ष २०७८ को शुभकामना दिंदै उनले जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गरे ।

नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने उनले विश्वास व्यक्त गरे ।

नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिनुहुँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरे ।

देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पार्दै अध्यष दाहालले सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरे ।

उनले सन्देशमा भनेका छन्, “अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग सङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता समाज विकासका नियमलाई आत्मसात् गर्दै विचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।”

अध्यक्ष दाहालले कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचना प्रविधिमा आएको विकासलाई उत्पादन र वर्ग सङ्घर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्