Logo
Logo
गण्डकीमा नयाँ सत्ता समीकरण

धरमरमा एमाले, काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्दै


दृष्टि संवाददाता


मुख्यमन्त्री गुरुङ र नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको छ । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार नेकपा माओवादी केन्द्र कांग्रेसलाई मुख्यमन्त्री दिन तयार भएको छ ।

पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री रहेको नेकपा एमाले सरकार ढालेर नयाँ सरकार गठन गर्ने कसरत सुरु भएको छ । नयाँ सरकारकार लागि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समीकरण बनाउने प्रयास भइरहेको छ । गणीतीय रुपमा समेत यो समीकरणको सकार बन्ने सम्भव देखिइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छन् । दोस्रो ठूलो दल कांग्रेसका १५, माओवादी केन्द्रका १२ सदस्य छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ प्रदेशसभा सदस्य छन् । नयाँ सरकार गठन हुँदा कांग्रेसबाट कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी गराउने प्रयास गरेका थिए । तर, जनमोर्चाले समर्थन फिर्ता लिदैं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेको छ । त्यसैले नयाँ सरकार गठन हुने सम्भावना बढेको ।

प्रतिक्रिया दिनुहोस्