Logo
Logo

सरकारी उदासीनताले परिस्थिति भयावह हुनसक्छ


नवीन राई


कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो लहर साम्य हुँदैगर्दा नेपालमा दोस्रो लहरको जोखिम बढेको छ । छिमेकी मुलुक भारतमा संक्रमणको दोस्रो चरणमा तीव्ररुपमा फैलिएसँगै नेपालमा जोखिम बढेको हो । पछिल्लो समय भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित फेला परिरहेका छन् । नेपालमा पनि ग्राफ उकालो लाग्दैछ ।

यसपालि गत वर्षजस्तो कोरोनाको त्रास देखिन्न । मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य सुरुक्षा मापदण्ड पालनामा खास जाँगर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै सङ्क्रमण बढ्न थालेको भए पनि पछिल्लो समय सङ्क्रमणको रफ्तार तीव्र छ । यसप्रति स्वास्थ्य मन्त्रालयले सजग गराइसकेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ ।

सीसीएमसले दोस्रो चरणको कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरिसकेको छ । यससँगै सरकारले विद्यालयसहित अन्य भीडभाड हुने सार्वजनिक क्षेत्र बन्द गर्ने तयारी थालेको छ ।

२५ जनाभन्दा बढी भेला हुने क्षेत्र र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थान बन्द गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार सीसीएमसीलाई सिफारिस गरेको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नेपाल दोस्रो चरणको कोरोना लहरको संघारमा रहेको बताउँछन् । उनी भन्छन्, ‘दोस्रो चरणको कोरोना लहर आएको भन्दा पनि हामी त्यसको संघारमा छौँ, त्यसलाई घरभित्र पस्न दिने कि संघारबाटै लखेट्ने भन्ने हामीमै भरपर्छ ।’

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । तर, सावधानी खासै अपनाएको पाइँदैन । अब, नेपालको स्थिति कस्तो हुन्छ ? कस्ता सावधानी अपनाउने ? पहिलो लहरको रोकथाम तथा नियन्त्रणमा नेपाल कहाँ–कहाँ चुक्यो ? गत वर्षबाट हामीले के सिक्यौँ ? ती गल्तीहरू नदोहोर्याउन के गर्ने ? भन्नेमा गम्भीर हुनुपर्ने देखिएको छ ।

गत वर्ष कहाँ चुक्यौँ ?
गत वर्ष सरकारले कुनै तयारीविना नै लकडाउन गर्यो । सुरुका दिनहरूमा जनताले दुःख पाएर पनि संयमित भएर लकडाउनको पालना गरे । संक्रमण रोकथाम हुने मन्त्रको रुपमा लकडाउनलाई मानियो । तर, लामो समय लकडाउन हुँदा पनि सरकारले अर्को उपाय निकाल्न सकेन । ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्नेहरु भोकभोकै मर्नुपर्ने अवस्था आयो ।

अर्कोतर्फ भारतबाट आएकाहरूको उचित व्यवस्थापन गर्न नसक्दा संक्रमणको स्थिति भयावह हुँदै गयो । भारतबाट फर्कने नेपालीको ठूलो संख्या भएकाले व्यवस्थापन गर्न एकदमै गाह्रो भयो । पहिला भारतमा भएका नागरिकलाई नेपाल आउन नदिने र नेपालमा भएका भारतीयलाई उता जान नदिने गरियो ।

त्यसपछि चोरबाटो हुँदै नेपाली स्वदेश आए । स्वदेश आएका कति क्वारेन्टिनमा बसे, कति बसेनन् ? क्वारेन्टिन अव्यवस्थित भएका कारण त्यहाँबाट पनि भागे ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको दिशामा सरकार नराम्रोसँग चुकेको अर्को एउटा क्षेत्र हो, कन्ट्याक्ट ट्रेसिङ । तेस्रो मुलुकबाटै आएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न हम्मे परिरहेको सरकारी संयन्त्रलाई खुला सिमाना प्रयोग गर्दै भारतबाट आउनेको लेखाजोखा राख्ने फुर्सद भएन ।

कोरोना महामारीसँग जुध्नका लागि स्थानीय तहसँग प्रदेश तथा केन्द्रीय सरकारले समन्वय गरेको पनि देखिएन । कोरोना संक्रमण नियन्त्रण, पहिचान र उपचारको लागि बनाएको नीति तथा कार्यक्रमले स्थानीय तहसँग समन्वय गरेर पाइएन ।

पहिलो संक्रमित देखिएको चार महिना बित्दासमेत पीसीआर परीक्षणको दायरा खासै बढाइएन । परीक्षण किटलगायत स्वास्थ्य सामग्रीको अभाव भइरह्यो । त्यसैले कोरोनासँग जुध्न ढिला भयो । सरकारले समयमै क्वारेन्टिन, आइसोलेशन सेन्टर, अस्पतालको पूर्वतयारी गर्न सकेन ।

भविष्यमा आउन सक्ने सम्भावित संकटको बारेमा पूर्णरुपमा अध्ययन गरिएन । परीक्षणको दायरा बढाउन सकिएन । क्वारेन्टाइन अव्यवस्थित बनाइयो, आवश्यकताअनुसार क्षमता बढाउन सरकार तप्पर देखिएन ।

सर्वसाधरणले मास्क लगाउने र भौतिक दूरी कायम राख्नेजस्ता सामान्य मापदण्डसमेत पालना भएन । जसले नेपालमा कोरोनाको संक्रमण बढाउन सहयोग पुग्यो ।

कोरोनाको दोस्रो लहरले लपेटीसकेको छ । तर, सरकारी तयारी केही छैन । पहिलो लहर जस्तै भयावह परिस्थिति बन्ने सम्भावना बढेको छ । गल्ती दोहोर्याउनु हुँदैन । छिटोभन्दा छिटो प्रभावकारी योजना र कार्यान्वयन अहिलेको आवश्यकता हो ।

गल्ती नदोहोर्याऔँ
जसरी गत वर्ष भारतमा कोरोना उतारचढावको असर नेपालमा देखियो त्यसैगरी यो वर्ष पनि भारतबाटै दोस्रो लहर हामीकहाँ आइपुग्ने सम्भावना बढी छ ।

भारतमा संक्रमितको संख्या बढ्दै गएपछि अघिल्लो वर्षजस्तै यस पटक पनि त्यहाँ रहेका नेपाली मजदूरहरू फर्कन थालेका छन् । पछिल्लो समय सुदूरपश्चिमका नाकाबाट मात्र सयौँ नेपाली भित्रिन थालेका छन् । जसले गर्दा पहिलेझैँ संक्रमणको अर्को लहर फैलिरहेको छ ।

भारतबाट नेपाली मजदूर तथा श्रमिक फर्कने क्रमसँगै नेपालमा दिनदिनै संक्रमित थपिँदै गएका छन्  । तर, यसपटक आइसोलेसनको तयारी गरिएको छैन । सीमा नाकामा हेल्थ डेस्क राखिएपनि पर्याप्त जनशक्ति नभएको खबरहरु सार्वजनिक हुन थालेको छ ।

समयमै आवश्यक पूर्वाधार व्यवस्था गर्न नसके फेरि गत वर्षजस्तै जस्तो भयावह अवस्था आउने सक्ने हुने डा. पुन बताउँछन् । कोरोनाको दोस्रो लहर फैलिन नदिन अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । ‘भारतबाट फर्केका नेपालीबाट गाउँ–गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ’, उनी भन्छन् ।

संक्रमण आयातित भएकाले हामीले अहिले नै सचेतना अपनाउन जरुरी छ । यदी सचेतना अपनाउन ढिलो गर्यौँ भने समुदायमा फैलिने जोखिम उच्च छ । डा. पुन भन्छन्, ‘अब मुलुकभित्र पनि संक्रमणविरुद्ध रणनीति तयार पार्नुपर्छ ।

एक वर्षको अनुभवबाट कमजोरी दोर्होयाउनु भएन । नागरिकले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । अहिले पनि संक्रमण बढ्न दिने र नदिनेमा नागरिकको पनि हात छ ।’

लकडाउन संक्रमण रोक्ने हतियार होइन भन्ने कुरा हामीले गत वर्षबाटै सिकिसकेका छौँ । लकडाउनको मूल उद्देश्य संक्रमणको चक्रलाई रोक्नु हो । पहिलो चरणको महामारीमा हामीसँग रोकथामको अरु उपाय थिएन । तयारी अवस्थामा नहुँदा लकडाउन लगाउने हो । तर, लकडाउन सधैँ लगाउने चिज होइन ।

‘बन्दाबन्दी कोरोनाको ‘चेन ब्रेक’ गर्न हो । हामीकहाँ बन्दाबन्दी गर्दा पनि कोरोना फैलियो । यो अन्तिम विकल्प हो, तर उत्कृष्ट विकल्प होइन, लकडाउन कोरोनाको अचुक औषधि होइन’ डा. पुन भन्छन्, ‘नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने हो भने हामी फेरि बन्दाबन्दीमै फर्कनुपर्छजस्तो लाग्दैन ।’

कोरोनाभाइरस फैलाउने, नफैलाउने भन्ने कुरा हाम्रै हात भएको उनको भनाइ छ । उनी भन्छन्, ‘भारतबाट फर्केका व्यक्तिले म भारतबाट आएँ, यस्तो यस्तो लक्षण छ वा छैन भनेर जानकारी दिने र आवश्यकता अनुसार क्वारेन्टिनमा बस्ने हो भने कोराना फैलिनबाट रोक्न सकिन्छ ।’

खोप लगाउनेहरूले अब मलाई कोरोना लाग्दैन भनेर मास्क नलगाई हिँडेको देखिन्छ । यसले पनि कोरोना महामारी फेरि फैलने सम्भावना छ । यस्तो भ्रम र सोचाइले खोपपछि झनै जोखिम बढ्न सक्छ । डा. पुन भन्छन्, ‘पहिलो चरणको खोप लगाएर अब मलाई कारोना लाग्दैन भन्नु मूखर्ता हो, पहिलो चरणको खोपले केही गर्दैन, कसैको त एन्टिबडी पनि बनिएको छैन । दोस्रो चरणको खोप लगाउँदा पनि सबैलाई काम गर्छ भन्ने हँदैन । अनुसन्धानले पनि देखाइसकेको छ । खोपले सतप्रतिशत प्रतिरक्षा गर्छ भन्ने हुँदैन ।’

ठूलो संख्याका दीर्घरोगी र ज्येष्ठ नागरिकले अझैपनि खोप पाएका छैनन् । हामीले लापरवाही गर्यौँ भने गत वर्षजस्तै हाम्रो स्वास्थ्य पूर्वाधारले नधान्ने अवस्था आउन पनि सक्छ । अस्पतालको शैया बढेको छैन, डाक्टर पनि लगभग त्यति नै छन् । त्यसकारण अब गल्ती नदोहोर्याऔँ ।

कोरोना समुदायमा फैलनबाट रोक्न सरकारको मात्र नभएर हरेक नागरिकको उत्तिकै भूमिका हुने विज्ञ बताउँछन् । भनिन्छ, रोगको उपचार गर्नुभन्दा लाग्न नदिनु उत्तम हो । सरकारले जतिसुकै राम्रो योजना ल्याएपनि पालना भएन भने कोरोनाबाट जोगिन सकिँदैन ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा के फरक पर्दोरहेछ भन्ने चीन र अमेरिकाबाट प्रस्ट थाहा भइसकेको डा. पुन बताउँछन् । उनी भन्छन्, ‘सुन्ने, हेर्ने, पढ्नेचाहिँ गर्यौँ, तर व्यवहारमा लागू गरेनौँ । कमजोरी हाम्रो पक्षबाट पनि देखियो । सजगकता सबैमा जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्