भीरमा फलेको फर्सी जस्तै नेपाली राजनीति « Drishti News – Nepalese News Portal
Logo

भीरमा फलेको फर्सी जस्तै नेपाली राजनीति


मिलन लिम्बू


नेपालको राजनीति भीरमा फलेको फर्सी जस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय राजनीतिमा अल्पमतमा परेर पनि भीरमा फलेको फर्सीजस्तै बालुवाटारमा झुन्डिरहेका छन् । सर्वोच्चको निर्णयले नेकपा खारेज भएपछि नैतिक रुपमा ओली सरकार अल्पमतमा परे पनि ओली दंग छन् ।

ओलीले सत्ता टिकाउन जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई ‘हरियो घाँस’ देखाइरहेका छन् । ओलीको पक्षमा १२० सांसद छन् । तर, माधव नेपाल समूहलाई छुट्याएर हिसाब गर्दा जसपाले समर्थन गरे पनि ओलीलाई १३८ पुर्याउन गाह्रो छ ।

जसपाले नेपाली कांग्रेसलाई समर्थन गर्यो भने माओवादी केन्द्रको समर्थनमा कांग्रेस नेतृत्वको सरकार बन्छ । तर, जसपा दुई भागमा विभाजित भएकै कारण ओलीको आयु अस्वभाविक रुपमा लम्बिरहेको छ ।

नयाँ कोर्ष प्रारम्भ भएको महिना दिन बित्यो । तर, ओलीलाई सत्ताच्यूत गर्न आगो ओकलेकाहरु अलमलमा छन् । न, समर्थन फिर्ता हुन सक्यो, न अविश्वासको प्रस्ताव नै दर्ता भयो । ओलीलाई सत्ताच्यूत गरेर नयाँ सरकार गठन गर्ने सवाल अन्योलमा पर्यो ।

वर्तमान राजनीतिक तरलताको मुख्य जिम्मेवार नेपाली कांग्रेस हो । किनकि, कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । कांग्रेस सभापति शेरबहादुर देउवा आफैँले भनेका हुन्– ‘प्रमुख प्रतिपक्षी दल ‘गभरमेण्ट इन वेटिङ’ हो । त्यस दलको नेता ‘प्राइमिनिष्टर इन वेटिङ’ हुन्छ ।’

संसदीय प्रणालिमा प्रमुख प्रतिपक्षी दल ‘गभरमेण्ट इन वेटिङ’ नै हुन्छ । र, त्यस दलका नेता नै ‘प्राइमिनिष्टर इन वेटिङ’ नै हुन्छन् । तर, यस्तो लाग्छ, अब देउवालई प्रधानमन्त्री हुने चाहना नै छैन ! प्रमुख प्रतिपक्षी दल सरकार नेतृत्व गर्न सक्ने अवस्थामै छैन !

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय त गर्यो । तर, सोहीअनुसार पहल गर्न चाहेकै छैन । देउवा–ओली अप्राकृतिक लेनदेनको प्रभाव यहाँ देखियो । त्यसैले ओलीको विकल्प खोज्न देउवालाई रुची छैन । ओलीको विकल्प खोज्ने देउवाको देखावटी रुप हेर्न लायक छ ।

देउवा अनैतिक गतिविधिको बन्धनमा छन् । ओली बर्खिलापमा मैदान उत्रेर ‘झोलीतुम्बी’ बोक्नु छैन । बालुवाटारबाट तारकोतार खबरदारको सन्देश पुगेकै छ, बुढानिलकण्ठ ! त्यसैको त्रासमा देउवा लुरुक्क परेका छन् ।

रामचन्द्र पौडेल कांग्रेस सभापतिको हुटहुटीमा छन् । नाभीदेखिको बल लाएर सभापतिको खैरो खन्दैछन् । ओली सरकारको सत्तोसराप गर्दैछन् ।

रामचन्द्रको आक्रोश हेर्दा ओली सरकार एकदिन पनि टिक्दैनझैँ लाग्छ । तर, देउवालाई ‘ऐया न आत्थ’ ! गगन, विश्वप्रकाशहरु प्रभावहीन प्रवचनमा लीन छन् । गगनहरुको बोली र खोलाको गीत उस्तै भएको छ, कसैले नसुन्ने ! आफूलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसीको हुकुमी शैली कोइराला खानदानदेखिकै परम्परा हो ।

सभापतिको मुखौटामा ‘म भनेकै कांग्रेस, कांग्रेस भनेकै म’ भन्ने भ्रम उहिले पनि थियो, अहिले पनि छ । देउवा सोही परम्परालाई निरन्तरता दिँदैछन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस । कांग्रेसकै नेतृत्वमा सरकार बन्नु अप्राकृतिक हुँदैन । बहुमतप्राप्त दलले सरकार चलाउन नसके प्रमुख प्रतिपक्षी दलले नै सरकार बनाउने संसदीय प्रणालीको विशेषता हो । तर, यहाँ आश्चार्य छ ।

सजिलै सरकार चलाउने अवसर प्राप्त हुँदा पनि कांग्रेस तयार छैन । देउवाको अरुचीले दुनियाँ गम खान्छ । देश मद्यावधि निर्वाचनउन्मुख देखिन्छ । जुन ओली–देउवाको संयुक्त चाहना र योजना हो । नभए सरकार बनाउन आनाकानी किन गर्ने ? कारण त केही देखिन्न ।

प्रमुख प्रतिपक्षी दलको रुपका कांग्रेस नालायक बन्यो । वर्तमान सत्ता समीकरणमा निर्णायक भएर पनि जसपा ओलीको हरियो घाँसमा लोभियो । त्यसैले नयाँ सरकार बन्न सकेको छैन । राजनीति भीरमा फलेको फर्सी जस्तै भएको छ ।

कांग्रेस नेतृत्वमा सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) तयार छन् । माओवादीसँग ओली सरकार ढाल्नुबाहेक केही शर्त छैन । जसपासँग केही राजनीतिक र प्रशासनिक माग छन् । ती मागमा कांग्रेस र माओवादी सहमत छन् । तर, पनि सरकार बनाउन नसक्नु प्रमुख प्रतिपक्षी दलको नालायकीबाहेक अरु होइन ।

सत्ता समीकरणका लागि जसपाले उठाएको राजनीतिक माग ‘संविधान संशोधन’ हो । यसअघि कांग्रेस नेतृत्व सरकारकै पालमा मधेशी दलको माग पूरा गर्न संविधान संशोधन टेबल भएको थियो । त्यसैलाई निरन्तरता दिने कुरा हो ।

प्रशासनिक माग भनेको निर्वाचित सांसद रेशमलाल चौधरीसहित राजनीतिक बन्दी रिहामात्र हो । यो विषयमा छलफल गर्न कांग्रेसलाई समस्या छैन । तर, देउवा अरुचीमा यी ‘तील’जस्ता समस्या ‘पहाड’जस्तो बनाउँदै सरकार बन्न नदिएर देशलाई अस्थिरतामा धकेल्ने खेल जारी छ । त्यसैले नयाँ सरकार गठन हुन सकेको छैन ।

वर्तमान परिस्थितिको कारक जसपा होइन । सत्तरुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी कांग्रेस हुन् । ओलीलाई ‘बहुबली’झैँ शक्तिशाली र ‘ध्रुबे हात्ती’झै हिंस्रक बनाउने प्रचण्ड र देउवा नै हुन् । प्रचण्डले ‘बुई’ चढाएर ओलीलाई शक्तिशाली बनाए ।

देउवाले प्रतिपक्षी भूमिका बिर्सेर ‘ठीक गरिस् केटा’ भन्दै धाप मारेर ओलीलाई शक्तिशाली बनाए । यी तीन मिलेर जसपा लगायतलाई किनारामा पारेका हुन् । त्यसैले यो प्रकृयामा जसपाको प्रत्यक्ष संलग्नता छैन । यस अर्थमा वर्तमान संकट समाधान गर्ने जिम्मा पनि कांग्रेस–माओवादीकै हो । जसपाका लागि वर्तमान संकट आफ्ना माग पूरा गर्ने अवसर बनेको छ ।

सत्ता विशुद्ध लेनदेनको खेल हो । यहाँ सैद्धान्तिक वैचारिक विषयको खासै अर्थ हुँदैन । त्यसैले लेनदेन मिल्नेले सरकार बनाउन सक्छन् । परिस्थितिले कांग्रेस, माओवादी र जसपालाई एक ठाउँमा पुर्याएको छ । उत्तिकै मात्रामा ओली–जसपा समीकरण बन्ने सम्भावना छ ।

आफ्ना माग पूरा हुने भए जोसँग पनि सहकार्य गर्न जसपा तयार छ । किनकि, सत्ता विशुद्ध लेनदेनको खेल हो । जहाँ घाटाको परिकल्पना नै हुँदैन । नाफा हुने भए सैद्धान्तिक वैचारिक विषय गौंण हुन्छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिए नयाँ सरकार नबन्ने, यथावत राखे हलो अड्किने । माओवादी चरम दुविधामा छ । समर्थन यथावत राख्नुको एकमात्र कारण प्रतिगमन दोहोरिन नदिनु हो ।

माओवादीले समर्थन फिर्ता लिए ओलीले विश्वासको मत लिनुपर्छ । तर, सरकार टिकाउन आवश्यक विश्वासको मत पाउने अवस्था छैन । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको कांग्रेसले ओलीलाई विश्वासको मत दिन सक्दैन ।

एमालेका धेरै सांसदले फ्लोर क्रस गर्नेछन् । जसपाका आधाले मात्र ओलीलाई मत दिन सक्छन् । यस्तो अवस्थामा सरकार बन्न सक्दैन र संसद विघटन हुने खतरा हुन्छ । त्यसैले माओवादीले समर्थन फिर्ता नलिएको हुनसक्छ ।

संसद विघटनको खतरा रोक्न बाध्यात्मक अवस्थामा रहेको माओवादीलाई दबाब बढ्दै गएको छ । ओली आफैँले विश्वासको मत फिर्ता लिएर देखाउ भन्दै चुनौती दिइसकेका छन् । कांग्रेसले पनि बेला–बेला समर्थन फिर्ता नलिएको भन्दै दबाव दिने गरेको छ ।

जसपाले पनि ‘समर्थन फिर्ता लिनुपर्यो नि अनि नयाँ सरकार बन्छ’ भन्दै माओवादीलाई दबाब थप्दै गएको छ । तर, नयाँ सरकार गठन सुनिश्चित नभएसम्म माओवादी समर्थन फिर्ता लिने पक्षमा छैन । सरकारलाई समर्थन गरेर केही नपाएपनि तत्कालका लागि संसद विघटन रोक्न माओवादीले समर्थन यथावत राख्नु तात्कालिक रुपमा बेठीक छैन ।

वर्तमान सत्ता समीकरणका लागि जसपा निर्णायक मत हो । त्यसैले जसपाको दुवै हातमा लड्डु छ । ओली वा देउवा जसले राम्रो मुल्य दिन्छ, उसैले जसपा हातपार्ने अवस्था छ । ओली–देउवा दुवैले जसपाका लागि जुवा खेल्नुपर्ने हुन्छ ।

राजनीतिक जुवाको मामलामा ओली–देउवा दुवै माहिर हुन् । तर, देउवाभन्दा ओली जुवा हान्न एक कदम अगाडि छन् । त्यसैले जसपाका लागि ओली जस्तोसुकै जुवा हान्न सक्छन् ।

वास्ताविकता यस्तो छ, जसपाले साथ दिएपनि ओली सरकार टिक्न सक्दैन । यस्तो अवस्थामा प्रतिगमन दोहोरिन्छ । विश्वासको मत लिने क्रममा ओलीलाई एमालेकै माधवकुमार नेपाल समूहका कम्तिमा ३० सांसदले विश्वासको मत दिँदैनन् । त्यस्तो अवस्थामा सरकार बन्न सक्दैन । विस्तारै परिस्थिति मद्यावधि निर्वाचनतर्फ धकेलिन्छ । यो जनमतको अपमान हुन्छ । प्रतिगमन दोहोरिन्छ ।

बेला–बेला जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने चर्चा चल्छ । झुक्याएर कुखुरा छोप्न चारो छरिएझैँ बालुवाटारले प्रधानमन्त्रीको चारो छरेको हो । जसपामा विभाजन ल्याउन प्रधानमन्त्री कार्ड फालिएको हो ।

ओली सरकारबारे जसपामा बनेको दुई धारणामा मलजल गर्न खोजिएको हो । यदि, जसपालाई विभाजन गर्न सके अस्थिरताले निरन्तरता पाउँछ भन्ने बुझाइ र अपेक्षासहित जसपामा झमेला थप्न खोजिएको हो । यस्तो अवस्थामा जसपाले सचेततापूर्वक निर्णय गर्नुपर्ने हुन्छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेसको नेतृत्वमा माओवादी र जसपा सम्मिलित सरकार बन्ने देखिन्छ । संसदको दोस्रो ठूलो दलले तेस्रो र चौंथो शक्तिलाई साथमा लिएर सरकार बनाए तत्कालका लागि अस्थिरताबाट हुनसक्ने खतरा रोकिन्छ ।

सरकार नै नबन्ने र संसदको आयु दुई वर्ष बाँकी रहँदै निर्वाचन गरेर देशलाई ठूलो आर्थिक नोक्सानीबाट जोगाउन सकिन्छ । यसले संविधानको रक्षा गर्छ । विधि, विधान र कानून अनुसार शासन सञ्चालन हुन्छ ।

@milanlimboo

प्रतिक्रिया दिनुहोस्