Logo
Logo

पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे  बैंकको क्युआर कोड सेवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने अभियान संचालन गरिरहेको माछापुच्छ्रे  बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वैशाख ३ गते नेपालगञ्जस्थित पवित्र वागेश्वरी मन्दिरमा क्युआरकोड मार्फत भेटी चढाइ उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । साथै उनले क्युआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशि कटौती हुने हँुदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्जस्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआरकोड सेवा सुरु गरेकामा माछापुच्छ्रे  बैंकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे  बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे  बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्युआरकोड बारेमा प्रकाश पारेका थिए । साथै बाँके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले माछापुच्छ्रे  बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्युआर कोड सेवाको सफलताका लागि शुभकामना व्यक्त गरे ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे  बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्