Logo
Logo
रोजगारी समस्या

सुन फल्ने भूमि छोडेर मरुभूमिमा मोती खोज्दै युवा


नवीन राई


बेरोजगारी देशका लागि ठूलो चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय विश्वव्यापी कोभिड—१९ का कारण देश विदेशमा धेरैले रोजगारी गुमाउँदा नेपालमा बेरोजगारको संख्या ह्वात्तै बढ्यो ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका नेपाली युवा श्रमको विश्वबजारबाट धमाधम स्वदेश फर्किरहेका छन् । पछिल्लो समय नेपालमा दैनिक १ हजार ४ सयभन्दा बढी युवा फर्कने गरेका छन् । स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि उस्तै छ ।

शिक्षित युवा नै बेरोजगार छन् । ऊर्जाशील युवा लुडो खेलेर दिन बिताइरहेका छन् । काम गर्ने इच्छा र योग्यता हुँदाहुँदै पनि हजारौं युवा बेरोजगार हुनुपर्ने अवस्था छ । शिक्षित र काम गर्ने इच्छाशक्ति भएका युवाले काम गर्ने अवसर नै नपाउनु देशकै लागि पनि ठूलो दुर्भाग्य हो ।

सरकारी तथा निजी क्षेत्रका कुनै पनि प्रतिष्ठानमा थोरै संख्यामा मात्र रोजगारीको अवसर खुल्दा पनि अत्यधिक संख्यामा पर्ने आवेदनले मुलुकमा बेरोजगार कति छन् भन्ने प्रस्ट हुन्छ । लोकसेवा आयोग, सेना, प्रहरीमा भर्ना खुल्दा, कोरियन भाषा परीक्षालगायतमा रोजगारीको अवसर प्राप्त गर्न तँछाडमछाड गर्दै आवेदन दिने युवाको भीडले देशमा बेरोजगारीको कहालीलाग्दो चित्र झल्काउँछ ।

युवा बेरोजगारलाई राजनीतिक दलका नेताहरुले भोट माग्ने अश्त्र बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रचारमा २०७४ कात्तिक २८ गते झापाको दमकमा भनेका थिए– ‘सरकार बनेपछि हरेक परिवारका कम्तीमा एक जनालाई रोजगार दिइने छ, वैदेशिक रोजगारीमा जाने युवाको संख्यालाई शून्यमा झार्छौ ।’

हाल नेपालमा २० लाखभन्दा बढी युवा दक्ष तर बेरोजगार रहेको तथ्याङ्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नै हेर्ने हो भने सूचीकृत बेरोजगारको संख्या मात्रै ७ लाख ४३ हजार १ सय २ रहेको छ । धेरै त यो कार्यक्रममा सूचीकृत नै भएका छैनन् । भोजपुर, साल्पा सिलिछो गाउँपालिको तथ्याङकलाई हेर्ने हो भने ७ जना मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका छन् । तर, सिलिछोमा ७ जना होइन ७ सयभन्दा धेरै युवा बेरोजगार छन् ।

रोजगारी समस्याका कारणहरू

शैक्षिक योग्यता, पुख्र्यौली पेसागत अनुभव अथवा सीपको आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार छन् । तर, स्वरोजगार बन्ने भन्दा पनि जागिर खाने चाहनाले पनि धेरै युवा बेरोजगरा छन् ।

सीप र लगानी गर्ने क्षमता भएका युवा पनि निर्धक्क भएर लगानी गर्न सक्ने अवस्था छैन । व्यक्तिमा काम गर्ने सीप, जाँगर, लगानी गर्ने पुँजी भएपनि मुलुकमा लागानीका लागि उपयुक्त वातावरण नहुनाले पनि बेरोजगारको संख्या बढेको हो । राज्यले लगानी सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने अवस्थाले पनि आफै लगानी गरेर रोजगार बन्ने सम्भावना छैन ।

स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष लिएको सरकार नै विदेशमा आकर्षक श्रम गन्तब्य खोज्दै हिड्छ । युवा कहाली लाग्दो रोजगारी समस्या भोग्दैछन् ।

अर्को सीपको कमीले गर्दा नेपालमा दिनानुदिन बेरोजगारको संख्या बढ्दै गइरहेको छ । व्यवसाय गर्नका लागि व्यवसायीक सीप र आवश्यक अध्ययन तथा तालिम पर्याप्त छैन । वास्तवमा भन्ने हो भने नेपालको शिक्षा प्रणालीमै समस्या छ । व्यवहारिक शिक्षाको व्यवस्था नहुँदा विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने थलो बनेका छन् । विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र लिएका युवा भौतारिरहेका छन् ।

रोजगारीको अवसर सिर्जना गर्ने अधिक सम्भावना बोकेको कृषि पेसा खुम्चँदै गएको छ । परम्परागत प्रणालीमा हुने कृषिले जीवन धान्नै नसक्ने अवस्था बनेपछि कृषि क्षेत्रमा आश्रित धेरै युवा बेरोजगार छन् ।

व्यवसायको वृद्धिदर अन्य विकसित मुलुकको तुलनामा निकै कम छ । यहाँ उत्पादन हुने वस्तुलाई विश्व बजारसम्म लैजान पहल नै हुँदैन । उत्पादनले अपेक्षित बजार नपाउँदा उच्च दरमा रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । त्यसैले पनि बरोजगारको संख्या बढ्दै गएको हो ।

नेपालमा बेरोजगारको संख्या बढ्नुको मुख्य कारण श्रमबारे गलत बुझाइ पनि हो । विदेशमा शौचालय सफा गर्न तत्त्पर युवा स्वदेशमा हलो जोत्न, गोबर सोहोर्न लाज मान्छन् । यसको मुख्य कारण नेपालमा श्रम प्रतिको गलत बझाइ हो । कामको आधारमा मानिसको दर्जा कायम गर्ने गलत परम्पराको परिणाम हो, यो । ठूलो र सानो काम भन्ने मान्यताले पनि बेरोजगार बढेका हुन् ।

समस्याको मूल जड राजनीति हो । त्यसैले राजनीतिक घटनाक्रमले सबै क्षेत्रमा प्रभाव पार्छ । लामो समयको अस्थिर राजनीतिले स्वदेशी श्रम बजारमा नकरात्मक प्रभाव परेको छ । राजनीतिक अस्थिरताको समयमा पुँजी परिचालन खतरामा पर्ने भएकाले देशमा रोजगारीको वातारण बन्न नसक्दा बेरोजगार बढेका छन् ।

रोजगारी समस्याले निम्त्याउने संकट त झनै बिकराल छ । हजारौं शिक्षित बेरोजगार युवाको ऊर्जावान समय त्यसै खेर गइरहेको छ । बेरोजगार भएका कारण धेरै युवा कुलतमा फसेका छन् । गुजारा चलाउनकै लागि आपराधिक कृयाकलापमा संलग्न हुने युवाको संख्या बढ्दै गएको छ । यसरी नै बेरोजगारको संख्या बढ्दै जाने हो भने आगामी दिन कस्तो हुन्छ भनेर कल्पना पनि गर्न सकिन्न ।

सरकारको नीतिमै समस्या

प्रधानमन्त्री ओली बारम्बार भन्छन्– ‘अब कोही युवा रोजगारीका लागि विदेश जानु पर्दैन ।’ स्वदेशमै ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने योजना हरेक वर्षको नीति तथा कार्यक्रममा छुट्दैन । तर, व्यवहारिक रुपमा त्यस्तो छैन ।

स्वदेशमै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष लिएको सरकार नै नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य खोजी गर्ने लक्ष राख्छ ! नीति स्वदेशमै रोजगारी सिर्जना गर्ने तर युवा श्रम बेच्न विदेशमा आकर्षक गन्तव्य खोज्ने द्धय चरित्रले कतै पुर्याउँदैन ।

सरकारले स्वदेशमा रोजगारीको वातावरण बनाउन अनेक योजना बनाएको छ । युवा स्वरोजगार जस्ता निक्कै लोकप्रिय कार्यक्रम छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई स्वरोजगार बनाउने सरकारी नीति पनि नराम्रो होइन । तर, सरकारको यी नीति व्यवहारिक छैनन् । युवा स्वरोजगार र शैक्षिक प्रमाणपत्रमाफर्त युवाले पाउने २–३ लाख रकम ‘हात्तीको मुखमा जिरा’ मात्र हो । सानो रकमले व्यवसाय गरेर स्वरोजगार बन्न सम्भव नै हुँदैन ।

सरकारी योजना अन्र्तगतका ‘व्यवसायीक कर्जा तथा अनुदान’ पाउन सामान्य युवालाई सम्भव छैन । सरकारी योजना अन्र्तगत रकम लिनका लागि राजनीतिक पहुँच अनिवार्य हुन्छ । राजनीतिक पहुँच नभएका युवाले सरकारी अनुदान पाउने कुरा कल्पना बाहिर छ । राजनीतिक पहुँचको भरमा रकम लिएकाले दुरुपयोग गरेका छन् । वास्ताविक बेरोजगार युवाको पहुँच यहाँसम्म पुग्न सकेको छैन ।

के गर्नु पर्छ ?

अल्पबिकसित हाम्रो देशमा रोजगारी सिर्जना गर्न सकिने अनेक आधार छन् । खाँचो, यहाँको परिवेश सुहाउँदो योजना र कार्यान्वयन गर्ने जाँगरको मात्र हो ।

कृषि नेपालमा रोजगारी सिर्जना गर्न सकिने निर्भिकल्प क्षेत्र हो । कृषि क्षेत्र नै समृद्धिको आधार हो । त्यसैले कृषि लक्षित राम्रो योजना बनाउने र कार्यान्वयन गर्ने हो भने युवा बेरोजगार बस्नु पर्दैन ।

सबैभन्दा पहिले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ । दुनियाँको दर्शन पढाउन बन्द गरेर आधुनिक कृषि बढाइनु पर्छ, सिकाइनु पर्छ । कृषि क्षेत्रलाई आनुधिकीकरण गरी युवाको आकर्षण बढाउनु पर्छ । कृषि क्षेत्रमा काम गर्नेलाई राज्यको हरेक सेवा सुविधाका लागि पहिलो प्राथामिकतामा राखिनु पर्छ । कृषि क्षेत्रबाट उत्पादित वस्तुको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्छ ।

कृषि क्षेत्रमा सरकारले उपलब्ध गराउने सबै सेवा सुविधा समानुपातिक तरिकाले वितरण गरिनुपर्छ । पहुँच भएकाले मात्र सेवा सुविधा पाउने गलत परम्पराको अन्त्य हुनुपर्छ । श्रमको आकर्षक गन्तव्य भन्दै अर्काको देश चहार्ने सरकारी नालायकीपन आजकै दिनबाट अन्त्य हुनुपर्छ । युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्