अन्तिम शब्द, फेरि भेटौँला है « Drishti News – Nepalese News Portal
Logo

अन्तिम शब्द, फेरि भेटौँला है


शम्भु श्रेष्ठ


त्यस दिन ‘दृष्टि’कै कार्यालयमा बसेर पत्रपत्रिका पढिरहेको थिएँ । अचानक प्रेम गुरागाईको फोन आयो । पार्टी कार्यालयबाट हत्तपत्त फोन नगर्ने गुरागाईं भाइले हस्याङफस्याङ गर्दै ‘रवीन्द्र दाइ चढेको हेलिकप्टर बेपत्ता भयो भन्ने सुने बुझ्नुहोला । मैले सोधे– को, को थिए । उनले भने– ‘आङछिरिङ, नागरिक उड्डयनका कर्मचारीहरु पनि थिए भन्छन् ।’ त्यसपछि मैले आङछिरिङका मित्र हेमन्त कोलाक्ष्यपति दाइलाई फोन गरे । उनले भने म पनि त्यस्तै कुरा सुन्दैछु, ‘कन्फर्म’ भइसकेको छैन । मनले मानेन र फेरि हिमालयन एयरलाइन्सका मित्र विजय श्रेष्ठलाई फोन गरेँ । विजयले भने– म एयरपोर्टतिर जाँदैछु । त्यहाँ पुगेपछि मात्र के भएको हो भन्ने कुरा थाहा होला ।

शम्भु श्रेष्ठ

त्यस दिन आकाश कालै थियो । सिमसिम पानी परिरहेकै थियो । मनमनमा हेलिकप्टर दुर्घटनामा प¥यो होला भन्ने लाग्यो । रवीन्द्र, आङछिरिङसँग विगतमा बिताएका दिनको झझल्तै सम्झना आयो । तै पनि मनमा के भएको होला भन्ने खुल्दुली मच्चिनैरह्यो । ‘अनलाइन’ले दुर्घटनाको समाचार सम्प्रेषण गरिसकेका थिए । ‘फेसबुक’लगायतका सामाजिक सञ्जाल हार्दिक श्रद्धाञ्जलि र ‘रिप’ले भरिन थाल्यो । तर, पनि मलाई विश्वास लागेन । दृष्टि अनलाइनले दुर्घटना भएको भन्ने सूचना मात्र सम्प्रेषण ग¥यो । दृष्टिमै थुप्रै साथीहरुको फोन आयो । के भयो भनेर ? मैले केही भन्नै सकिनँ ।
फागुनको दोस्रो साता नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको साधारणसभामा मन्त्री अधिकारीसँग एउटै मञ्चमा तीन चार घण्टा बिताएको थिएँ । पोखरामा मेरो भाषण सुनेर मन्त्री अधिकारीले भने– गोकुलकै अगाडि सरकारको धज्जी उडाउनुभयो नि शम्भु दाइ । मैले भने– प्रतिपक्ष कमजोर छ, त्यसको भूमिका पनि हामीले नै निभाउनु पर्छ । मेरो कुरा सुनेर हाँस्दै मन्त्री अधिकारीले भने– भाषणमा दम छ । आज म बुबा, आमासँगै पोखरा बस्छु । काठमाडौँ पुगेपछि भेट्नुपर्छ है । काठमाडौँ पुगेर उनीसँग भेट्नुपर्ने थियो मलाई । भेट्नुको एजेन्डा मन्त्रीलाई पनि थाहा थियो । त्यसैले उनी आफैँले काठमाडौँमा पुगेर भेटौँला भनेर मलाई सम्झाएका थिए ।
त्यो भन्दा एक महिना अगाडि नेपाल टेलिभिजनको वार्षिकोत्सवमा उनीसँगको मेरो भेट होटल हिमालय कुपण्डोलमा भएको थियो । त्यो भेटमा पनि मन्त्री अधिकारीले यो हुलमा के कुरा गर्नु, भोलि बिहानै क्वाटरमा आउनु भनेर भनेका थिए । भोलि बिहान नौ बजे क्वाटरमा पुग्दा उनी अलि तनावमा देखिन्थे । सायद वाइडबडी खरिदको चर्चा र मन्त्रालयका कर्मचारीबाट उनलाई भएको असहयोगबाट उनी चिन्तित थिए । नभन्दै पर्यटनबाट सरुवा भएका सचिवले आफ्नो बिदाइ भाषणमा मन्त्रीकै अगाडि अपमानजनक शब्द बोले ।
यसभन्दा छ-सात महिना अगाडि पाल्पाको रानीघाट दरबार (रानीमहल) तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । हामी दुई भाइ जहाजको सिटमा सँगै प¥यौँ । जहाज काठमाडौँबाट उडेपछि अलि हल्लियो । मैले भने– मौसम खराब छ कि क्यो हो ? मन्त्री अधिकारीले भने– यहाँको मौसम सधैँ यस्तै हो, अलिअलि त जहिले पनि हल्लाउँछ । जहाज भैरहवा विमानस्थल अवतरण भएपछि विशिष्टकक्षमा जम्मा भएका कर्मचारीहरुसँग भेट भयो । अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र गर्ने काम कहिले शुरु हुन्छ भन्ने जानकारी लिए । समयमै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने कुरामा उनी ढुक्क थिए ।
भैरहवाबाट पाल्पासम्मको करिब डेढ घण्टाको यात्राभरि उनले मोबाइलबाटै मन्त्रालय चलाइरहेका थिए । विभिन्न फाइल र कामको बारेमा निर्देशन दिइरहेका थिए । मैले सोधे– गाडीमा पनि यति व्यस्त ? उनले भने– मन्त्री हिँडेपछि त कर्मचारीले कामै गर्दैनन् । अनि गोठालो नलागेर भयो त ? त्यतिबेला मन्त्रीको हतारो साँफेबगर एयरपोर्ट सञ्चालनमा ल्याउने थियो । तर, कर्मचारीले ढाट्याढाट्यै गरेकोले उनले मिति नै तोकेर यति गतेसम्म उक्त एयरपोर्ट सञ्चालन गर्नैपर्छ भनेर निर्देशन दिएका थिए ।
पाल्पाको रानीमहल पुगेर मन्त्री अधिकारी दंग परे । कालीगण्डकी किनारमा अवस्थित रानीमहलको भद्रगोल अवस्था अवलोकन गरे । पत्रकार राजेश अर्यालले आफ्नो बोल्नेक्रममा आगामी ‘भ्यालेन्टाइन डे’ मा विद्या भाउजुलाई लिएर आउन आग्रह गरे । पत्रकार अर्यालको कुरो सुनेर मुसुमुसु हाँसिरहेका मन्त्री अधिकारीले यो त विश्वमै महङ्गो ‘हनिमुन प्लेस’ बन्न सक्छ । यो महलमा सुविधासम्पन्न कोठा बनाउन सके, एकै रातको पाँच सय, हजार डलर तिरेर पर्यटकले यहाँको सुन्दर, शान्त र हरियाली वातावरणको आनन्द लिन सक्छन् भनेर सुझाव पनि दिए ।
यो पंक्ति लेखिरहँदा मैले उनलाई टुँडिखेलमा श्रद्धाञ्जलि दिएर फर्किएको छु । तर, पनि उनी हामीसँग बिदा भए भन्ने कुराको विश्वास मलाई लागेको छैन । त्यसैले मैले यो कलमले उनलाई फेसबुकमा न ‘रिप’ लेख्न सकेँ, न हार्दिक श्रद्धाञ्जलि नै । केवल सम्झिरहेको छु फिस्स हाँस्दै काठमाडौँ पुगेर भेटौँ है, आज आमा,बुबासँग घरै बस्छु भनेर पोखरामा मसँग बिदा भएको त्यो दृश्य ।

प्रतिक्रिया दिनुहोस्