Logo
Logo

आईजीपीको नाम बेच्दै सई


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जति काम गर्न चाहेका थिए, त्यति गर्न सकेका छैनन् । आईजी खनाल योजनाअनुसार सफल नहुनुमा उनको कमजोर टिम एउटा प्रमुख कारण रहेको बताइन्छ ।

उनको टिममा रहेका कतिपय व्यक्तिको ध्यान नै पैसा कमाउनुमा छ । टिममा रहेका केही व्यक्तिले सेटिङका आधारमा सरुवा गर्नेदेखि व्यापारीहरुसँग विभिन्न बहानामा पैसा असुल्ने गरेका तथ्य समेत भेटिएका छन् । जसबारे खनाल जानकार छैनन् ।
राजधानीमै कतिपय प्रहरीहरु आईजीपीको नाममा घुस असुलिरहेका छन् । महानगरीय प्रहरी प्रभाग लुभुमा कार्यरत सई देवानन्द यादवले आफू आईजीपीको मान्छे भन्दै असुली धन्दा चलाएपछि स्थानीय जनप्रतिनिधिहरुले हालै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआईजी शैलेश थापा क्षेत्रीलाई भेटेर गुनासो गरेका छन् । तर, पनि उनको असुली रोकिएको छैन । जुवादेखि स्कुलसम्म उनले पैसा असुलीरहेको समाचार छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ६ स्थित स्कुल चोकमा धर्म महर्जनको घरमा उनकै संरक्षणमा जुवा खेलाइने गरिएको छ, जहाँबाट उनले मासिक १५ हजार लिने गरेका छन् । त्यस्तै हरि महर्जन, संजय महर्जन, विष्णु बस्नेत, लुभु टाउन प्लानिङमा वाले महर्जन, ढुंगेखानी बसपार्क, लामाटार र सिस्नेरीमा पनि यादवलाई मासिक रुपमा पैसा बुझाएर जुवा खाल सञ्चालन भइरहेको स्रोत बताउँछ । लाँकुरीभञ्ज्याङमा हरेक हप्ता कौडा खाल सञ्चालन हुने गरेको छ । कसैसँग १० त कसैसँग १५ हजार रुपैयाँ उनले लिने गरेका छन् । सोही कारण ती जुवा अखाडामा कहिल्यै छापा हान्ने गरिएको छैन ।
त्यस्तै स्नकुर हाउसहरु लागूऔषधका अखडा बन्दै गएका छन् । गाँजासहित पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाई लेनदेनका भरमा छाडिने गरेको प्रभागका एक प्रहरी बताउँछन् ।
प्रहरीको ध्यान असुलीमा हँुदा चोरी र गुन्डागर्दी बढेको छ । चोरीका कुनै पनि घटना प्रहरीले पत्ता लगाउन सकेको छैन । हाकिमहरुले मागेका छन् भन्दै स्थानीय रेस्टुरेन्टबाट उनले नियमित रुपमा महंगा रक्सी मगाउने गरेका छन् ।
चौकी चलाउन गाह्रो भएको भन्दै स्थानीय स्कुल सञ्चालक तथा व्यवसायीसँग उनले नियमित रुपमा पैसा माग्ने गरेको एक स्कुलका सञ्चालकले बताए ।
प्रभागमा लामो समयदेखि घुस्याहा असईहरु बस्दै आएका छन् । जसको तस्कर र गुन्डाहरुसँग संगत छ । जसका कारण सर्वसाधारण पीडित हुँदै गएको भन्दै उनीहरुलाई समेत हटाउन स्थानीय जनप्रतिनिधिहरु डिआईजीकोमा पुगेका छन् ।
तर, सई यादवले आफू आईजीपी सचिवालयबाट खटिएकाले जसले उजुरी गरे पनि केही नहुने भन्दै धम्काउने गरेका छन् । आईजीपीका बडीगार्ड विजय यादवलाई ५० हजार बुझाएर लुभुमा सरुवा भएको र मासिक रुपमा सचिवालयमा पैसा बुझाउनुपर्ने भन्दै उनले पैसा उठाउने गरेका छन् । साथै सातदोबाटोका डिएसपी गौतम मिश्र तथा ललितपुर परिसरका एसपी र डिएसपीको नाममा पैसा र रक्सी माग्ने गरेका छन् । सईका असुलीका कारण आईजीपी समेत बदनाम भइरहेका छन् ।
प्रहरीमा उनीजस्तै प्रहरीहरुले अहिले धेरै अवसर पाइरहेका छन् । रुपन्देहीमा हुँदा ठग गिरोहसँग मिलेको खुलेपछि अभियुक्तका रुपमा मुद्दा चलाउन सिफारिस भएका इन्सपेक्टर रबिन बिष्टलाई अहिले दाङस्थित प्रहरी स्कुलको कमान्डेन्टमा खटाइएको छ । ललितपुरको मुद्दामा हुँदा गाँजा बेच्ने रेस्टुरेन्ट मालिकलाई पक्राउ गरेर पैसा लिई छाडेको खुलेपछि कारबाहीमा परेका इन्सपेक्टर हर्क विकलाई कमलपोखरी वृत्तको मुद्दा शाखामा जिम्मेवारी दिइएको छ ।
यस्ता बदनाम प्रहरीसँग आईजीपीको सचिवालयका प्रहरीको सम्बन्ध हुने र जसकारण आईजीपी खनालको संगठन सुधारको प्रक्रियालाई समेत अवरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्