Logo
Logo

प्रहरी हिरासतमा पुगे माता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राजधानीका टोल टोलमा ‘माता’ भेटिन्छन् । हात हेर्नेदेखि रोग निको पार्नेसम्मका काम ‘माता’हरुले गर्छन् । माताहरुकहाँ भेट्न सर्वसाधारण मात्र होइन देशका चर्चित व्यक्तिहरु समेत पुग्ने गरेका छन् ।

माताहरुप्रति सर्वसाधारणको आकर्षण बढिरहँदा कतिपयले यसलाई कमाई खाने भाडो बनाएका छन् । आफू माता बनेर विभिन्न बहानामा ठगी गर्ने र यातना दिनेसम्मका घटनाहरु हुन थालेको छन् । आफूमा दैवी शक्ति रहेको दाबी गर्दै अन्धविश्वासमा विश्वास गर्नेहरुलाई उनीहरुले प्रभावमा पारिरहेका छन् ।
आफ्नो घरमा आएकी एक बिरामीलाई यातना दिएको आरोपमा एक माता हाल प्रहरी हिरासतमा पुगेकी छिन् । भीमसेनस्थान बस्ने कविता श्रेष्ठलाई गत बुधबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उपचारका लागि उनकोमा आएकी रश्मी नगरकोटीलाई उनले तातो पन्यूले डाँमेकी थिइन् । बोक्सी भएको र अरुलाई पनि बिरामी बनाएको भन्दै त्यसरी ताँतो पन्यूले उनलाई डामिएको थियो । शरीरभरी घाउँ भएपछि उनी प्रहरीकोमा गएकी थिइन् । बोक्सी सम्बन्धी कसुरमा काठमाडौं परिसरले उनीमाथि कारबाही अघि बढाएको छ ।
काम सफल बनाइदिने, मुद्दा जिताइदिने भनेर समेत कतिपय माताहरुले पैसा लिने गरेका छन् । अन्धविश्वासका कारण कतिपयले त्यस्ता माताहरुलाई भगवान नै मान्ने गरेका छन् । देशभरी नै माताको नाममा विकृति बढिरहेको छ ।
दुई साताअघि मात्र बोक्सीकै आारोपमा दाङमा आफूलाई माता बताउने विष्णु श्रेष्ठ पक्राउ परेकी थिइन् । गत वर्ष महोत्तरीमा माता भन्ने अप्सरा बराल पनि बोक्सीकै आरोपमा पक्राउ परेकी थिइन् ।
गत वर्ष कैलालीको घोडाघरीमा पनि माताकै कारण ठूलो बोक्सीकान्ड भएको थियो । पार्वती माता बताउने सीता राना लगायतको समूहले स्थानीय राधा चौधरीलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्