Logo
Logo

किन बढ्दो छ हेलिकोप्टर दुर्घटना ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार वीरगञ्जको महायज्ञ उद्घाटनमा जाने कार्यक्रम थियो । तर, एक्कासी उनको कार्यक्रम रद्द भयो । यसरी एक्कासी कार्यक्रम रद्द गर्नुका पछाडि अरु नभएर खराब मौसम प्रमुख कारण थियो । मौसम राम्रो नभएको बेला हेलिकोप्टरमा यात्रा गर्नु जोखिम भएको भन्दै सेनाले राष्ट्रपति भण्डारीलाई जान रोकेको थियो । यसभन्दा अगाडि राष्ट्रपति भण्डारी सोलु पुग्दा पनि मौसम खराबीका कारण एक रात सोलु बस्नु परेको थियो ।

यसरी मौसमका कारण राष्ट्रपतिको कार्यक्रम रद्द भएको यो पहिलोपटक होइन । पटक –पटक रद्द गरिएको छ । खराब मौसममा हेलिकोप्टर उडाउनु जोखिम हुन्छ ।
तर, त्यही जोखिम मोल्दा गत बुधबार ठूलो दुर्घटना भयो । जनताले आशा र भरोसा गरेका नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए । तेह्रथुममा विमानस्थलको अध्ययन गर्न गएका मन्त्री अधिकारीसहितको टोली आकस्मिक योजनामा पाथीभरा दर्शनमा गएको थियो । पाथीभराबाट टेकअफ गर्न खोज्ने क्रममा नै हेलिकोप्टर दुर्घटनामा परेको थियो । घटनाको छानबिनका लागि पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा समिति गठन भएको छ, सो समितिले सत्यतथ्य बाहिर ल्याउँला नै । तर दुर्घटनामा केही कमजोरीहरु भने प्रष्ट रुपमा देखिएका छन् । मौसमको खराबीका साथै चालकले बढी जोखिम लिएको बताइएको छ ।

युवा चालकहरु धेरै दुर्घटनामा
धेरै डाँडाहरु भएकाले नेपाल स्वभाविक रुपमा हवाई यातायातका लागि जोखिमपूर्ण देश हो । तर, अनुभवी पाइलटहरुका लागि प्रतिकुल भौगोलिक बनावट ठूलो समस्या हुँदैन । कम अनुभव भएका पाइलटहरुलाई समस्या हुन्छ । अहिलेको एउटा मुख्य समस्या त्यही हो ।
नेपालमा धेरै जसो हवाई दुर्घटनाहरु पाइलटको लापरबाहीले हुने गरेको छानबिन समितिका रिपोर्टहरुले औंल्याउने गरेका छन् । लापरबाही भनेको जानी–जानी हुने होइन । आफ्नै ज्यान जोखिममा राखेर कसैले लापरबाही गर्दैन । अनुभवको कमीले यस्तो दुर्घटना हुने गर्छन् ।
गत बुधबार दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकोप्टर चलाउने पाइलट २६ वर्षिय प्रभाकर केसी थिए । उनले पाथीभरा क्षेत्रमा धेरै उडान गरेका थिएनन् । सोही दिन अन्य हेलिकोप्टरहरु पटक पटक पाथीभरा गएका थिए । तर, मन्त्री अधिकारी चढेकै हेलिकोप्टर दुर्घटना हुनुमा खराब मौसमभन्दा पनि पाइलटको अनुभवसँग जोडेर धेरैले विश्लेषण गरेका छन् । उडेको ३० सेकेन्डमा नै हेलिकोप्टर झरेको थियो । विज्ञहरुका अनुसार हावाको चापका कारण उचाइ बढ्दै जाँदा हेलिकप्टरको वहन क्षमता घट्छ । दिउँसो साढे १२ बजे पाथीभरामा धेरै हावा चल्ने गर्दछ । त्यो जानकारी पाइलट केसीसँग नहुन सक्छ । किनकी पूर्व योजनाअनुसार त्यहाँ गएका थिएनन् । धेरै हावा चलेको अवस्थामा एकदमै अनुभवी पाइलटहरुले मात्र हेलिकोप्टर नियन्त्रण गर्न सक्छन् ।
भौगोलिक र मौसमी प्रतिकुलतामा उडाउन अनुभव चाहिन्छ । त्यसमाथि कुनै जोखिम देखेमा पाइलटले तत्कालै उडान नसकिने तथा निश्चित व्यक्तिभन्दा धेरै राख्न नसक्ने अडान लिन सक्नुपर्छ । मन्त्री र आफ्नो एयरलाइन्सकै मालिक चढेको हेलिकोप्टर भएकाले पाइलट केसी मानसिक दबाबमा परेर जोखिम मोलेरै हेलिकोप्टर उडाए कि भनेर हवाई बिज्ञहरुले नै प्रश्न गरेका छन् ।
पाथीभरामा बेला बेलामा जोडले हावा चल्ने गर्दछ । चालकलाई त्यसबारे अनुभव नहुन सक्छ । जसकारण उनलाई हेलिकोप्टर नियन्त्रण गर्न गाह्रो भएजस्तो देखिएको छ ।
ताप्लेजुङ त्यही जिल्ला हो जहाँ १२ वर्षअघि बहावलवाल मन्त्रीसहितका व्यक्तिले हेलिकोप्टर दुर्घटनामा नै ज्यान गुमाएका थिए । ७ असोज ०६३ वन राज्यमन्त्री गोपाल राई, योजनाविद् हर्क गुरुङ र फिनल्यान्डका राजदूतसहित २४ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए । अहिले त्यही प्रकृतीको दुर्घटना ताप्लेजुङमा भएको छ । दुवै घटनाका कमजोरीहरु उस्तै छन् । सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न सरकारले पुनरावेदन अदालतका न्यायाधीश केशरीराज पण्डितको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोगले खराब मौसम र हेलिकोप्टरमा धेरै यात्रुलाई दुर्घटनाको मुख्य कारण मानेको थियो । हेलिकप्टर ४ हजार मिटरको उचाइमा ठोकिएको थियो ।
हरेक जसो हवाई दुर्घटनामा सरकारले उच्चस्तरीय छानबिन समितिहरु बनाउने गरेको छ । त्यस्तो समितिले लाखौं खर्च गरेर प्रतिवेदन बुझाउँछन् । तर, प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरु कार्यान्वायन हुँदैनन् ।
गत भदौमा धादिङ र नुवाकोटको सीमामा अल्टिच्यूट एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो । जसको पाइलट आदर्श केसी थिए । उनी पनि युवा पाइलट हुन् । ‘३० वर्ष मुनिका धेरै पाइलटहरु अहिले हेलिकोप्टर उडाइरहेका छन्,’ पर्यटन मन्त्रालयका एक अधिकारी भन्छन्,‘उनीहरुमा अनुभवको कमी छ, यस्तो अवस्थामा नियामक निकायहरुबाट कडाई गर्नुपर्छ ।’

किन बनेन हेलिकोप्टर सुरक्षा नीति ?
भौगोलिक प्रतिकुलताका कारण खराब मौसमका बीच अप्ठेरा डाँडाकाँडा छलेर पाइलटहरुले उडान भर्नुपर्ने बाध्यता नेपालमा छ । मौसमबारे बेलैमा सूचना पाउन नसक्दा बढी दुर्घटना निम्तिरहेको कतिपयको भनाई छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणका एक अधिकारीका अनुसार नेपालमा होलिकप्टरका पाइलटलाई सूचना दिने प्रणाली एकदमै कमजोर छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका कुनै पनि विमानस्थलमा ‘वेदर राडार’ प्रविधि जडान गरिएको छैन । वेदर राडारले भिजिबिलिटी र मौसमबारे पूर्वजानकारी दिन्छ । नेपालमा हेलिकोप्टर मुख्यतः हिमाली र पहाडी भेगमै उडान भर्छन् । जहाँ पाइलटले मौसमबारे पूर्वजानकारी कमै मात्र पाउँछन् । उडान र अवतरणका बीचमा पर्ने रुटको मौसमबारे पाइलटले कुनै जानकारी नहुने भएकाले आँखाले हेरेर अनुमानका आधारमा हेलिकोप्टर चलाउनुपर्ने अवस्था छ ।
हेलिकप्टर सुरक्षासम्बन्धी राष्ट्रिय नीति बनाउनुपर्नेमा लामो समयदेखि माग हुँदै आएको छ । हवाई दुर्घटना भएको बेला यो विषय उठ्ने गरेको छ तर कुनै पनि सरकारले यसलाई प्राथमिकतामा राख्न सकेको छैन ।
धेरै हवाई दुर्घटनाका कारण नेपालको विश्वमै नकारात्मक प्रचार भइरहेको छ । इयूले कालोसूचीमा समेत राखेको छ । यस्तो अवस्थामा पर्यटनमन्त्री अधिकारी र देशकै ठूलो एयरलाइन्स कम्पनीका मालिक आङछिरिङ शेर्पाले नै हवाई दुर्घटनामा ज्यान गुमाएका छन् ।
हवाई सुरक्षालाई मजबुत बनाउन यो क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई समेत नियन्त्रण गर्नुपर्ने समय आएको छ । हवाई क्षेत्रको सुरक्षामा पर्याप्त लगानी हुन सकेको छैन । यो दुःखत घटनालाई पाठका रुपमा लिएर सरकारले यो हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल अग्रसरता लिए भोलिका दिनमा यस्ता दुर्घटना धेरै हदसम्म नियन्त्रण हुने थिए ।

प्रतिक्रिया दिनुहोस्