Logo
Logo

सिटिजन्स बैंक पन्ध्रौं वर्षमा


दृष्टि संवाददाता


काठमाडौं । २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल यही वैशाख ७ गतेदेखि चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको बैंकको हाल चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आइपुग्दा कुल निक्षेप करिब १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्चदरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्बभन्दा माथि रहँदै आएको छ । गत आवमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ ।

बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि उदाहरणहरु हुन । वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ । बैंकको सुरुमा ४४ कर्मचारी रहेकामा हाल यस बैंकसँग १ हजार ६०० कर्मचारी आवद्ध छन् । बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ ।

नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको बैंकले हाल सालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

खुद्रा लेनदेन र किनमेललाई सहज,सरल र झन्झटरहित बनाउनका खातिर यस बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५ हजार ३१९ वटा क्युआर कोड क्युआर कोड तथा ४४० वटा पिओएस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुत गतिमा कार्यसमेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्