Logo
Logo

‘अर्कै पार्टी बनाउँदै हिँडेका छन्, तैपनि सम्झाउने प्रयास गर्दैछु’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार बल्खु मदन नगरमा पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै भने, ‘अहिले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने र पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने प्रयास भएको छ । यो कदापि हुन सक्दैन ।’

उनले नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै आक्रोश पोखे । ओलीले भने, ‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको छैन ।’

यस्ता प्रवृत्तिविरुद्ध पार्टी जुधिरहेको भन्दै ओलीले विगतमा आफूहरुलाई पार्टीविहीन बनाउने खोजिएको तर असफल भएको पनि बताए । उनले भने, ‘बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र कम्युनिस्ट पार्टीलाई गर्व गरेका छन् ।’

ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको भन्दै कटाक्ष गरे ।

प्रचण्ड र नेपालहरुमा चरम महत्वकांक्षा र संकीर्ण मानसिकताले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुष्प्रयास भएको दावी गरे । उनले ५६ सालदेखि आफू कम्युनिस्ट पार्टीको सदस्य रहेको स्मरण गर्दै कठीन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले कसैले कथित कारबाही गर्दैमा हट्ने कुरा नहुने बताए ।

‘म ५६ वर्ष अगाडिदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु, ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन सुरु गरेर लागेको छु । तर ममाथिबाट हमला सुरु भयो । हमला पनि यस्तो भयो कि साधारण सदस्यबाटै निष्काशन गरियो’ उनले भने, ‘उद्घोष थियो केपी ओलीलाई पत्तासाफ बनाइयो, भित्तामा टँसाइदिन्छु । धूलोमा मिलाइदिन्छु । धूलोमा मिलाए ।’

उनले आफूमाथि टाउकोमा हान्ने काम भएको बताउँदै भने, ‘टाउकोमा हान्दा शरीर सग्लै भएपनि रन्थनिने भयो नि । त्यसरी टाउकोमा हान्ने नीति उनीहरुमा रह्यो र नेतृत्वदेखि शीर्ष नेतालाई कारबाहीमा पारियो ।’

प्रधानमन्त्री ओलीले माधव नेपालले अर्कै पार्टी खोली सकेको समेत आरोप लगाए । उनले भने, ‘नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि अहिलेपनि सम्झाउने प्रयासमा भइरहेको छ ।’

ओलीले भने, ‘हाम्राविरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ ।’

पार्टीमा अनुशासनहीनता नचल्ने भन्दै ओलीले भने, ‘व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भएपनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन ।’

प्रतिक्रिया दिनुहोस्