Logo
Logo

प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता आवश्यक : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रतिगामी प्रवृति देखापरेको बताएका छन् ।

बिहीबार लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको कदमलाई परास्त गर्न सकिने बताए ।

‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ’ उनले भने, ‘ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’

उनले अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताउँदै भने, ‘देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।’

तत्कालिन सोभियत संघलाई एकताबद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने अध्यक्ष प्रचण्डले धारणा सुनाए ।

प्रतिक्रिया दिनुहोस्