Logo
Logo

अब्बल तर गुमनाम शिल्पकार : जसले बनाए धरहराको गजुर


दृष्टि संवाददाता


काठमाडौ । बैशाख ११ गते नवनिर्मित धरहराको शिलान्यास हुँदैछ । सरकारले नै आफ्नो महत्वपूर्ण उपलब्धि मानेको यो सफलता पछाडि धेरै मेहनती हातको भूमिका छ । धरहरा निर्माणमा पर्दापछाडी रहेका पात्रमध्ये एक हुन, श्याम तुलाधर । जसले धरहराको गजुर बनाउने काम गरेका छन् ।

तुलाधर सानै उमेरदेखि मूर्तिकलामा सक्रिय व्यक्ति हुन् । उनले धेरै सालिक तथा मन्दिरका गजुर बनाए । मूर्तिकलामा उनी एक गुमनाम तर अब्बल कलाकार हुन् ।

मूर्तिकला उनको पारिवारिक विरासत हो । उनका हजुरबुबा नेपालका पहिलो मूर्तिकार हुन् । महांंकालस्थित सैनिक अस्पतालमा बनाइएको सैनिकको शालिक नेपालको पहिलो सालिक हो । यो उनकै हजुबुबाले बनाएका हुन् ।

दोस्रो विश्वयुद्धमा सहभागी भएका सैनिकको सम्झनामा प्रधानमन्त्री चन्द्रशमशेर राणाले त्यो सालिक बनाएका थिए । ‘सुरुमा विदेशमा बनाउन लागिएको रहेछ’, उनी भन्छन् । ‘विदेशमा बनाउँदा करिब ४५ हजार भारतीय रुपैयाँ लाग्ने भएछ, त्यसपछि यति धेरै पैसा विदेशमा पठाउन हुँदैन भनेर स्वदेशमा मूर्तिकारको खोजी भयो ।

यसअघिका धेरै कामभन्दा राजा महेन्द्रको सालिक बनाउँदा आफ्नो कामको धेरै प्रशंसा भएको उनी बताउँछन् । जुन सालिक मनाङमा राखिएको थियो । ठ्याक्कै अनुहार मिलेकाले त्यो सालिकबाट उनले धेरै प्रशंसा कमाए ।

त्यो बेला मेरो हजुरबुबा मूर्ति बनाउन तयार हुनुभयो, उनी भन्छन् । ‘उहाँले करिब चार हजारमा त्यो सालिक बनाउनुभएको हो । हजुरबुबाको कामबाट चन्द्रशम्शेर खुशी भएर पाँच सय बक्सिस पनि दिनुभएको रहेछ ।’

हजुरबुबापछि उनको बुबाले पनि यही पेशा अंगाले । उनका बुवा हाल ८२ वर्ष पुगिसकेका छन् । जसले सिंहदरबारको सिंहको मूर्ति बनाउनेदेखि सहिद गेट बनाउन योगदान गरेका छन् ।

श्यामको पनि सानैदेखि यही काममा मन बस्यो । उनले पनि दर्जनौं मूर्ति तथा मन्दिरका गजुर बनाएका छन् । विभिन्न मन्दिरमा उनले बनाएका गजुर देखेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले श्याम तुलाधरलाई रोज्यो । र, उनलाई धरहराको गजुर निर्माणको जिम्मेवारी दिइयो । ‘धेरै काम गरे तर जीवनमा धरहराको गजुर बनाउँदाको खुशी अन्य कामले दिएन,’ उनी भन्छन्, ।

‘यसमा पाएको पैसा त ज्याला पनि पुग्दैैन । तर, विश्वकै एउटै मात्र धरहरामा आफुले बनाएको गजुर राख्न पाउँदा गर्व लागेको छ ।’ दिनरात नभनी गजुरको काम आफुले सम्पन्न गरेको तुलाधर बताउँछन् ।

यसअघिका धेरै कामभन्दा राजा महेन्द्रको सालिक बनाउँदा आफ्नो कामको धेरै प्रशंसा भएको उनी बताउँछन् । जुन सालिक मनाङमा राखिएको थियो । ठ्याक्कै अनुहार मिलेकाले त्यो सालिकबाट उनले धेरै प्रशंसा कमाए ।

मूर्ति बनाउने काममा धेरै मेहनत पर्ने उनी बताउँछन् । मूर्ति बनाउँदा सुरुमा मैनको मूर्ति बनाइन्छ । ‘आजभोलि शुद्ध मैन पाउनै गाह्रो छ,’ उनको गुनासो छ । मैनको आकारको मूर्ति बनाएर त्यसमा तामा प्रयोग गरि मूर्ति बनाइन्छ । सबैभन्दा गाह्रो काम मूर्तिमा ठ्याक्कै अनुहार मिलाउनु हो, उनी भन्छन् ।

‘कतिपयको त पुरानो ब्लाक एण्ड ह्वाइट फोटो मात्र हुन्छ, त्यसको आधारमा मूर्ति बनाउनुपर्ने हुन्छ ।’ तुलाधर भन्छन्– ‘तर पनि ठ्याक्कै अनुहार मिल्दो मूर्ति बनाउँछौं ।’

निरन्तर यही पेशामा लागेका उनी आफ्नो कामबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘पैसा त जति भएपनि पुग्दैन । तर बाजेको पालादेखिको जुन काम गर्दै आएको छु, त्यसमा खुशी छु ।’ उनले आफ्ना छोरालाई पनि पढाई सकाएर यही पेशामा लगाउने सोचका छन् ।

श्याम आफ्नो कामबाट सुन्तुष्ट नै छन् । तर, उनका उनासा पनि छन् । कामबाट धेरै सम्मान पाए पनि राज्यले चिन्न सकेको छैन । राज्यबाट कुनै सम्मान पाउन नसकेको उनको गुनासो छ । यद्यपि, आफ्नो कामबाट उनी सन्तुष्ट छन् । धरहराको गजुर निर्माणको कामले उनको सन्तुष्टि अझै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्