Logo
Logo

‘अपराधमुक्त शहर निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग आवश्यक’


दृष्टि संवाददाता


काठमाडौं । नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ ।

‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र जनसाधारणको सहभागिता बढाउनुपर्नेमा नेपालले जोड दिएको हो ।

अप्रत्यक्षरुपमा उक्त छलफलमा आज भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

उनले हिंसा, अपराध, असुरक्षा तथा सामाजिक अपराधलगायत अनेक जोखिमको सामान गर्दै शहरहरूलाई अपराधमुक्त तुल्याउन नेपाल सरकारले गरेका प्रयासबारे जानकारी दिए ।

अतिकम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नत हुने आकाङ्क्षा पूरा गर्न नेपालले अपराध निवारण तथा दिगो शहरी विकासमा आफूलाई केन्द्रित गरेको जानकारी दिँदै गृहमन्त्रीले त्यसका लागि सङ्घीय संरचनाका तीनवटै निकायसँग सशक्त समन्वय र सहयोग कायम गरेर अघि बढिरहेको बताए ।

अपराध रोकथाम तथा शहरी विकासका नीति तथा कार्यक्रममा युवा, महिला, स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको मन्त्री थापाले बताए ।
राष्ट्रसंघीय महासभाका अध्यक्षले आयोजना गरेको एकदिने उक्त छलफलमा १६ देशबाट मन्त्रीस्तरीय प्रतिनिधित्व भएको थियो भने कैयौँ उच्चस्तरीय वक्ताले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्