एक महिना पनि नधान्ने कोरोना विरुद्धको स्टक सामग्री « Drishti News – Nepalese News Portal
Logo
कोरोना जोखिम

एक महिना पनि नधान्ने कोरोना विरुद्धको स्टक सामग्री


प्रदीपराज दाहाल


काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र फैलिरहेको छ । उपचारका लागि कतिपय अस्पतालमा ठाउँ नै छैन । आइसीयू नपाउँदा कतै अस्पतालको आँगनमै उपचार त कतै अस्पताल चहार्दा चहार्दै संक्रमितको मृत्यु हुन थालेको छ ।

सरकारले कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न कस्टक सामग्री रहेको दावी गरेको छ । तर, संक्रमण दर र सरकारको तथ्यांक हेर्दा सरकारसँग स्टकमा रहेको सामग्रीले केही दिनमात्र पुग्छ । स्थानीय सरकारले त अझ महामारी नियन्त्रणमा ध्यान दिनै सकेका छैनन् ।

स्वास्थ्य सामग्री अभावमा भारतले चरम संकट भोगिरहेको छ । नेपालले त्योभन्दा ठूलो संकट भोग्नुपर्ने देखिन्छ ।

भारतले साता अघि नै अक्सिजन निर्यातमा रोक लगाइसक्यो । त्यसको प्रभाव नेपालमा पर्न थालिसकेको छ । भारतमा कारोनाबाट दैनिक धेरैको मृत्यु भइरहेको छ ।

नेपालमा स्वास्थ्य सुरक्षा मापदण्ड नै पालना नहुँदाको यो अवस्थामा कोरोना संक्रमणले भयावह बन्न सक्छ । यस्तो अवस्थामा ठूलो मात्रामा स्वास्थ्य सामग्री चाहिन्छ । तर, सरकारसँग रहेको स्टक पुग्दो छैन । सरकारले औषधि तथा अन्य स्वास्थ्य सामग्री स्टकमा रहेको बताएपनि छिट्टै स्वास्थ्य सामग्री अभाव हुने देखिन्छ ।

कुन स्वास्थ्य सामग्री कति स्टक ?

सेफ्टी चश्मा : ३५,७३१
पञ्जा : ३५,४४८
सर्जिकल मास्क : १०,६०,७६७
थर्ममिटर : ५१८
एन–९५ मास्क : १,०४,२५१
पञ्जा हेभी ड्युट : २११
फेस सिल्ड : २४,७५१
सर्जिकल हुड : ८००
सेनिटाइजर : १६०१७ लिटर
पीपीई : १,८९३
गाउन : ४५,८४३
सोडियम हाइपोक्लोराइड : ६५
गमबुट : ४,९६१
कानबाट जाँँच्ने थर्ममिटर : ८९
वाइप : २६३
भुइँ सफा गर्ने केमिकल : ६ सय ९ लिटर
क्लोरिन पाउडर : ५ सय कन्टेनर

स्वास्थ्य मन्त्रालयको सामग्री व्यवस्थापन महाशाखामा मौज्दात यि स्वास्थ्य सामग्री मन्त्रालयअनुसार एक महिनाका लागि मात्रै हो । भारतबाट आयात हुने अधिकांश सामग्री भारतले रोक लगाइसकेको छ । यस्तो अवस्थामा स्टक बढाउन चुनौती थपिएको छ ।

सरकारी आकालनअनुसार एक महिनापछि संक्रमितको संख्या तीन लाखभन्दा बढी हुनेछ । त्यसैले हाल सरकारसँग मौज्दात कुनै पनि सामग्रीले नधान्ने जनस्वास्थ्यविज्ञ रवीन्द्र अधिकारी बताउँछन् ।

प्रदेश तथा स्थानीय तह आफैंले खरिद गर्न सक्ने बाहेकका स्वास्थ्य सामग्री किन्ने प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढाएको छ । तर, नजिकको बजार भारतबाट सामग्री खरिद गर्ने सम्भावना कम छ । त्यसैले सरकारले बेलैमा अन्य देशबाट स्वास्थ्य सामग्री खरिदका लागि पहल गर्नुपर्ने देखिएको छ ।

कोरोना संक्रमितको उपचारमा सबैभन्दा धेरै प्रयोग हुने सामग्री अक्सिजन हो । तर, नेपालमा अक्सिजनको अत्यन्तै न्यून छ । भारतबाट आयात हुने अक्सिजनमा रोक लागिसकेको छ । त्यसैले सबैभन्दा धेरै संकट अक्सिजन अभावमा हुने छ ।

कति स्टक छ अक्सिजन ?
देशभर निजी र सरकारी गरी ३० वटा अक्सिजन प्लान्ट छन्  । तर, एक सय २५ सरकारी अस्पतालमध्ये १६ वटामा मात्रै अक्सिजन प्लान्ट छ । त्यसमा पनि चार वटा मात्र सञ्चालनमा छन् । एक वर्षअघिदेखि बिग्रिएका प्लान्ट अहिलेसम्म मर्मत हुन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाभित्र टेकु अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल तथा थापाथली प्रसूतिगृहमा मात्रै प्लान्ट सञ्चालनमा छन् ।

कुन प्रदेशमा कति अक्सिजन प्लान्ट छ ?
प्रदेश १
कोसी अस्पताल
धनकुटा अस्पताल

बागमती प्रदेश
टेकु अस्पताल (हालै खाली भयो)
भरतपुर अस्पताल
ट्रमा सेन्टर
थापाथली प्रसूतिगृह
शिक्षण अस्पताल (एउटा बिग्रिएको)

गण्डकी प्रदेश
धौलागिरि अञ्चल अस्पताल
पर्वत जिल्ला अस्पताल
गोरखा अस्पताल

कर्णाली प्रदेश
प्रादेशिक अस्पताल सुर्खेत
जिल्ला अस्पताल हुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

सुदूरपश्चिम
डडेल्धुरा अस्पताल
सेती प्रादेशिक अस्पताल
बयलपाटा अस्पताल

विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका र पाँच प्रतिशत गम्भीर बिरामी हुन्छन् । तर, २० प्रतिशत बिरामीलाई कुनै पनि बेला अक्सिजन दिनुपर्ने हुन सक्छ ।

कोभिडको कुनै औषधि छैन, गम्भीर बिरामीलाई अक्सिजन नै ‘लाइफलाइन’ हो । यसैबाट पनि पुष्टि भएको छ कि सरकार कहाँ कति चुकिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्