Logo
Logo

ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने ६ कुरा


दृष्टि संवाददाता


काठमाडाैं । बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ ।

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं । अनि डाइजिन, पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं । तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ ।

हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन् । कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ । एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ।

ग्यास्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने ६ कुरा

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

प्रतिक्रिया दिनुहोस्