Logo
Logo

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक


दृष्टि संवाददाता


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीव्रताका साथ विस्तार गरिरहेको हो ।

यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ । यसका साथै सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको व्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् । केही दिनअघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।

नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्