Logo
Logo

कुमारी बैंकले तेस्रो त्रैमाससम्ममा कमायो १ अर्ब ८० करोड नाफा


दृष्टि संवाददाता


काठमाडौं । कुुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ७८.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले एक अर्ब एक करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको छ । बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी र ५ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३९.०४ र ४४.८३ प्रतिशतले बढी हो ।

कम्पनीको सञ्चालन नाफा पनि ७४.४१ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा संस्थाको उक्त नाफा २०८५.१५ प्रतिशतले बढेर ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ४ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले एक खर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ९.५७ र १६.५५ प्रतिशतले बढी हो । संस्थाको निष्क्रिय कर्जा (एनपीएल) ०.९८ प्रतिशतबाट बढेर १.०९ प्रतिशतमा पुगेको छ । त्यस्तै, सिडी रेसियो बढेर ८१.२३ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी बढेर १७.३७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १३५.४९ रुपैयाँ पुगेको छ । संस्थाको आधार दर र स्प्रेड दर घटेर क्रमशः ७.६३ र ३.१९ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्