Logo
Logo

सरकारलाई मतलबै छैन, नागरिक झन् गैरजिम्मेवार


नवीन राई


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरले नेपालमा आक्रामक रूप लिन थालेको छ । २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ छ ।

१५ दिन अघि नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएकोमा वैशाख १२ गते तीन हजार बढीमा संक्रमण पुष्टि भयो । जुन १० दशमलव ३० गुणा बढी हो । पछिल्लो १५ दिनमा मात्र नेपालमा २० हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्न सक्ने सरकारको आकलन छ । मन्त्रालयले असारसम्म संक्रमितको संख्या दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिसकेको छ ।

तर, स्वास्थ्य मापदण्डको पालनामा भने सरकारले कडाइ गरेको छैन । स्वास्थ्य मापदण्ड उल्लंघनका लागि प्रोत्साहित गर्ने गतिविधि आफै गर्दै आएको छ । जनस्तरदेखि सरकारीस्तरसम्म लापरवाहीको क्रम रोकिएको छैन । स्वास्थ्य मापदण्ड विपरीत प्रधानमन्त्री केपी शर्मा ओली दिनहुँ उद्घाटनका नाममा आफै भीड जम्मा गर्ने र आफैले गरेको निर्णयको धज्जी उडाउन उद्दत छन् ।

गत सोमबार सरकारले कोरोना संक्रमणको जोखिम भएको भन्दै सभा–समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर, मंगलबार बिहानै प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा धार्मिक पूजा अनुष्ठान कार्यक्रम राखे ।

शनिबार मात्रै पनि ओलीले तामझामका साथ धरहराको उद्घाटन गरे । सयौँ मानिसको उपस्थिति रह्यो । त्यहाँ पनि मापदण्डको पालना भएको पाइएन ।

प्रधानमन्त्री ओली आफैँले सरकारी निर्देशिकाले निषेध गरेको कार्यक्रममा सहभागी भएर सङ्क्रमणको जोखिम बढाउने काम गरिरहेका छन् । यसैले पनि प्रष्ट पार्छ कि महामारी नियन्त्रणमा सरकार कति संवेदनशील छ भनेर ।

केही समय अघि स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै नर्वेका प्रधानमन्त्रीले जरिवाना तिर्नुै पर्यो । तर, नेपालमा आफैले गरेको निर्णयविरुद्ध प्रधानमन्त्री लाग्दा पनि कोरोना संक्रमण फैलनुको दोष नागरिकलाई जान्छ । यस्तो गैरजिम्मेवार हर्कत गर्ने प्रधानमन्त्री संसारमा सायदै होलान् ।

सीमामा कडाई भएको छैन । पीसीआर परीक्षण विना नै निर्वाध भारतबाट नेपाली प्रवेश गरिरहँदा संक्रमण समुदायमा फैलिन थालिसकेको छ । अहिले नेपालगञ्ज उपमहानगरपालिकाले त्यसैको कारणले भयावह अवस्थाबाट गुज्रिनु परिरहेको छ । तर, सरकारले विगतका गल्ती सुधार्नुको सट्टा दोहो¥याइरहेको छ ।

अहिले जनतालाई कोरोना भाइरसको महामारीबाट बचाउनुपर्ने सरकारको प्रमुख जिम्मेवारी हो, तर सरकार भने कहिले पशुपतिमा जलहरी लगाउने, कहिले अयोध्यामा राम मन्दिर बनाउने, कहिले तामझामका साथ धरहरा उद्घटन गर्ने, कहिले आफ्नै गृहजिल्लामा भ्यू टावर बनाउनेमा व्यस्त छ । अहिलेको आवश्यकता जलहरी, राम मन्दिर र भ्यूटावर हो कि नागरिकको औषधि उपचार ? प्रश्न नागरिकस्तरबाट आइरहेको छ ।

तर, दोष सरकारलाई मात्र दिएर नागरिक पनि उम्कन पाउँदैनन् । कोरोनाको भाइरस सुुरु हुँदा निकै डर, त्रासमा रहेका नागरिक अहिले संक्रमणले भयावह रूप लिँदा पनि निस्फिक्री देखिन्छन् ।

कोरोना नियन्त्रणमा अहिलेको अवस्थालाई हेर्ने हो भने सरकारले कुनै पनि निर्णय गर्न सकिरहेको छैन । निर्णय गरे त्यसको कार्यान्वयन हुन सकेको छैन । नागरिकले कोरोना भाइरसलाई सामान्य सोच्ने गल्ती गरिरहेका छन् । यदी नागरिक र सरकारले लापरवाही गरिरहे भने स्वास्थ्य मन्त्रालयले भने जस्तै केही दिनमा उपचार नपाएर धेरैले प्राण त्याग्नुपर्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्