Logo
Logo

बिहीबारदेखि हुने निषेधाज्ञा के गर्न पाइने, के नपाइने ?


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं उपत्यकमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारबाही हुनेछ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गर्न सकिनेछ ।

सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

के गर्न पाइन्छ , के पाइँदैन  ? 

१.सभा सम्मेलनको हकमा

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने। विवाह, व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने।

२. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

सार्वजनिक एवं निजी सवारी साधन सञ्जालनमा मिति २०७८/०१/१६ गते बिहान ६:०० बजे देखि मिति २०७८/०१/२२ गते राति १२:०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाउने।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाउने।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने।

माथि उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्था) का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्ने।

३. अत्यावश्यक खाद्य सामग्रीको हकमा

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्ने।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्ने।

खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने।

४. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने।

५. संचारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने।

६. काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने।

७. अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने।

प्रतिक्रिया दिनुहोस्