Logo
Logo

आईसीयू नपाउँदा संक्रमितको मृत्यु


दृष्टि संवाददाता


रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । आज मात्रै कोरोना विशेष अस्पतालमा आईसीयूसहितको शय्या नपाएकै कारण पश्चिम नवलपरासीमा एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वास फेर्न कठिन भइरहेको थियो । परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको उनको आज विहान निधन भएको छ ।

आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेपछि थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा उनलाई भर्ना गर्न प्रयास गर्दा गर्दै ज्यान गुमाउनु परेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाका अनुसार शय्या अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको थियो तर उपचार अभावले उनले ज्यान गुमाउनु परेको हो ।

डा. होदाले भने, ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभावमै उनको ज्यान गयो । बिरामीको अवस्था कमजोर भएकाले सोमबार नै भैरहवा र बुटवलको कोभिड अस्पतालमा अनुरोध गरे पनि ठाउँ पाइएन,’ उनले भने ।

दुई दिनअघि मात्र उनका बाबुको पनि कोरोनाका कारण घरैमा मृत्यु भएको थियो । नवलपरासीमा दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद पोखरेलको भनाई छ ।

 

यो पनि पढ्नुस्

धरानमा कोरोनाले थप दुई जनाको मृत्यु

निषेधाज्ञा कम्तीमा १५ दिन गर्न स्थानीय प्रशासनलाई मन्त्रिपरिषद्को निर्देशन

प्रतिक्रिया दिनुहोस्