Logo
Logo

महाकाली अस्पतालमा चिकित्सकको अभाव, थन्किए आइसियू र भेन्टिलेटर


हिक्मत बम


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको मुख्य सीमानाकासँंग जोडिएको कञ्चनपुर जिल्लामा कोरोना संक्रमणको उच्च जोखिममा पर्दै गएको चिकित्सकहरुले बताएका छन् ।

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा सबैभन्दा बढी दैनिक जसो कञ्चनपुरमा हुने गरेको चिकित्सकहरुले बताएका छन् । अहिले कोरोना संक्रमितलाई उपचार गर्ने र सबैको आशाको केन्द्र बिन्दु रहेको एक मात्रै महाकाली प्रादेशिक अस्पतालमा कोरोना संक्रमितलाई आवस्यक पर्ने भेन्टिलेटर संचालन गर्न आवश्यक जनशक्ति नहुँदा उपचार गर्नमा समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका १३ भेन्टिलेटरमध्ये तीन वटा चल्न नसक्ने अवस्थामा र बाँकी १० मध्ये अहिले ६ वटा संचालनमा रहेको अस्पतालका रेकर्डर नारदप्रशाद भट्टले जानकारी दिए ।

‘चार वटा भेन्टिलेटर जडान गरेहेका छौं तर संचालन गर्नको लागि आवश्यक जनशक्ती छैन’, उनले भने, ‘प्रत्येक दिन संक्रमितको संख्या अप्रत्यासित तवरमा बढिरहेको छ, तर उपचारमा खटिएका अस्पतालका जनशक्ति आधा जतीलाई कोरोना पुष्टि भएको छ, अहिलेसम्म २३ जनालाई कोरोना संक्रमित भइसके । प्रशासनमा २ जना मात्र कार्य सम्पादनमा लागेका छौँ । उता अस्पतालमा पनि चिकित्सकहरु आफै संक्रमित भएर आईसोलेसनमा रहेका छन् ।’

अस्पतालले बारम्बार सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयलाई थप जनशक्तिको लागि पत्रचार गर्दा पनि कुनै सुनुवाई नभएको अस्पतालका रेकर्डर भटट्ले बताए ।

चिकित्सकको अभावमा बाँकी रहेको कोरोना संक्रमितहरुको उपचार कसरी गर्ने भन्ने समस्याले पिरोलेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए । सोमवार मात्रै वेदकोट नगर पालिकाका एक संक्रमितलाई अस्पतालले भेन्टिलेटरको अभावमा सेतीमा रिफर गरेकोमा त्यँहा पनि भेन्टिलेटरको अभावमा डडेल्धुरा रेफर गरिएको उनले बताए ।

यस्तै अवस्था रहे उपचारामा पनि चिकित्सकको अभावको सिर्जना हुन सक्ने र समयमै समस्याको निवारण नगरिएको मृतकको संख्या बढन सक्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थिले अहिले सारा विस्वमा नै चिकित्सकको अभाव भइरहेको अवस्थामा सुदूरपश्चिममा पनि अभाव भएको बताए । उनले चिकित्सहरुको माग धेरै तर जनशक्ति भएकाले सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु नै उचित भएको बताए ।

नेपालभर २ सय जना मात्रै एनेसथेसिया रहेको मा सुदूरपश्चिममा पनि भेन्टिलेटर संचालनमा समस्या भएको र आफू लगायत अन्य मन्त्री रुले पनि स्वास्थ्य मन्त्रालयमा माग गर्दा पनि चिकित्सकहरु नपाइएको स्वास्थ्य निर्देशनालयका निर्देशक अवस्थिले बताए ।

 पिपिई विनै स्वाव संकलन गर्दै स्वास्थ्यकर्मी

कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई जोखिम मोलेर स्वाव संकलन गरिररहेका छन् । प्रत्येक दिन यस नाकाबाट छ सयदेखि सात सयको हाराहारीमा भारतको विभिन्न क्षेत्रबाट आउने नेपालीहरुको  पीपीई विनै  स्वाव संकलन गरिरहेका पाइएको हो ।

भीमदत्त नगरपालिकाबाट खटिएका बिहानको समय काम गर्ने स्वास्थ्यकर्मीहरुले पिपिई सेटको अभावमा आफनो ज्यानलाई जोखिममा राखेर काम गर्नु परेकाे बताए ।

यता, भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशीले आफूहरुसँग प्रयाप्त मात्रामा पिपिई सेट भएपनि स्वास्थ्यकर्मीहरुले लगाउन नमान्ने बताए। एउटै पिपिई सेट लगाएर १२ घण्टामा सम्म काम गर्न गाह्रो हुने भएपछि नलगाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्