Logo
Logo

प्रभु क्यापिटलको सामूहिक लगानी योजना स्वीकृत


दृष्टि संवाददाता


काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । प्रभु सेलेक्ट फन्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो ।

यो योजना १० करोड युनिटको १ अर्ब रुपैयाँबराबरको रहेको जनाइएको छ । क्यापिटलले निष्कासन तथा व्यवस्थापन गर्ने योजनाको ट्रस्टीका रूपमा प्रभु बैंक रहेको जनाइएको छ । कुल १० करोड युनिटमध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रस्टी एवं व्यवस्थापकका रूपमा खरिद गर्ने र बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई खरिद गर्न खुला गर्ने तयारी गरेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फन्डका नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक् रहने कम्पनीले जनाएको छ । यसले एकपटकमा बढीमा ३० वटासम्म कम्पनीमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउने जनाइएको छ । जसलाई नेप्से ३० बेन्चमार्कका रूपमा लिएर पनि लगानीकर्ताले यसमा लगानी गर्न सक्ने क्यापिटलले जनाएको छ ।

सातवर्षे अवधि रहेको यो सामूहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्