स्वास्थ्यकर्मीले तलब नपाएर हिँडेपछि प्रयोगशाला बन्द « Drishti News – Nepalese News Portal
Logo
कोरोना महामारी

स्वास्थ्यकर्मीले तलब नपाएर हिँडेपछि प्रयोगशाला बन्द


प्रदीपराज दाहाल


काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चपेटामा गुल्मी पनि परेको छ । तर, जिल्लामा कोभिड–१९ परीक्षणको सुविधासमेत छैन । जिल्लामा सञ्चालन भएको कोभिड–१९ प्रयोगशाला बन्द गरेर स्वाब परीक्षण गर्न बुटवल पुग्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

धुमधामका साथ परराष्ट्रमन्त्रीले उद्घाटन गरेर सञ्चालनमा ल्याएको कोभिड–१९ को प्रयोगशाला तम्घासका १० कर्मचारीले ५ महिना काम गरेर पारिश्रमिक नपाएपछि फागुनबाट काम गर्न छाडे । अहिले संकट परेको बेला दुई करोडभन्दा बढी खर्च गरेर सञ्चालनमा ल्याएको प्रयोगशाला बन्द भएपछि रुपन्देहीका विभिन्न अस्पतालमा स्वाब बोकेर चहार्नुपर्ने बाध्यता छ ।

गुल्मीमा पहिलो चरणको कोभिड–१९ का कारण ०७७ जेठ ३१ गतेको जिल्ला बिपद् व्यावस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर संचालन गर्ने निर्णय गर्यो । बैठकमा प्रयोगशाला र आइसोलेनको लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यावस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने सहमति जुट्यो ।

निर्णयानुसार प्रयोगशालामा गुल्मी अस्पतालमार्फत १० जना स्वास्थ्यकर्मी र कर्मचारी भर्ना भए । गत १ असोजमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धुमधामका साथ कोभिड–१९ प्रयोगशालाको उद्घाटन गरेका थिए । असोज ७ गतेबाट नियमित परिक्षण सुरु भयो । तर, जब कोभिड–१९ मथ्थर बन्यो तब केही स्थानीय तहले सहमति अनुसारको रकम दिएनन् ।

प्रयोगशालामा कार्यरत १० जना पारिश्रमिकविहीन भए । अस्पतालदेखि प्रशासनसम्म उजुरी पनि गरे । तर, कसैले बिपद्मा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको गुनासो सुनेनन् ।

२०७७ असोज ८ देखि फागुनसम्मको पारिश्रमिक नपाएपछि सबैले काम छाडे । अहिले करोडौँ खर्चेर सञ्चालनमा आएएको प्रयोगशाला बन्द गरेर कोभिड–१९ परीक्षणको लागि रुपन्देहीका विभिन्न अस्पतालमा गुहार माग्नुपर्ने अवस्था आएको गुल्मी अस्पतालका सूचना अधिकारी पुशपति आचार्यले बताए ।

स्थानीय तहमा सञ्चालन गरिएका कोभिड–१९ अस्पतालमा पनि सामान्य अक्सिजन बाहेकको सुविधा नभएकाले जटिल समस्या देखिए ज्याननै खतरामा पर्ने स्थिति छ । संक्रमण बढ्दै गएको छ । तर, नागरिकको जिउ ज्यानको बिषयमा स्थानीय सरकार गम्भीर नदेखिएपछि नागरिकमा त्रास फैलिएको छ ।

स्थानीय तहले पहिलो चरणको कोभिड–१९ को संक्रमण नियन्त्रणमा सक्रियता देखाएपनि अहिले १० प्रतिशत काम गरेका छैनन् । संक्रमणको पहिलो चरण केही नियन्त्रणमा आउनेबित्तिकै गाउँका क्वारेन्टिन र आइसोसेन बन्द भएका छन् । योजनाहरू सेलाएर गएका छन् । स्थानीय तहसँग एन्टिजिनको सहज पहुँच छैन । कोभिड–१९ अस्पतालका शय्या बल्ल बनाउन थालिएको छ । सुरुमा परीक्षणको दायरा नबढाए उपचारको व्यावस्थापन गर्न सकिँदैन । त्यसैले स्थानीय तहले नै प्रयोगशाला सञ्चालनमा चासो दिनुपर्ने गुल्मी अस्पतालका चिकित्सकको भनाइ छ ।

कोभिड–१९ संकट व्यावस्थापन केन्द्रको बैठकहरूमा प्रयोगशाला र आइसोलेसनको बिषय सवैलाई पुनः महसुस हुन थालेको छ । पुराना स्वास्थ्यकर्मी तथा कर्मचारीको पारिश्रमिक मिलान गरेर आगामी खर्च व्यावस्थापन गरी प्रयोगशाला सञ्चालन गर्ने बिषय प्रशासन, जनप्रतिनिधि, नेता र सरोकारवालाका लागिे चुनौती बनेको छ ।

तर, त्यसको व्यवस्थापन नगर्नुको अर्को बिकल्प उनीहरूसँग छैन । त्यसैले पुरानो उठ्न बाँकी रकमसहित प्रति नगर ३ लाख र प्रति गाउँपालिका २ लाखका दरले रकम उठाएर प्रयोगशाला सञ्चालनको योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

जिल्लामा केन्द्रीय स्तरका नेताहरू छन् । प्रदेशस्तरीय नेता र सांसदहरू पनि नभएका होइनन् । समस्या पैसाको होइन, प्रश्न नैतिकताको हो । महामारीको बेलामा जिल्लाका समस्यामा शिर निहुराउने स्थानीय तह, जिल्ला र केन्द्रीयस्तरका नेताहरूको मुल्यांकन जनताले गरेका छन् ।ttps://www.youtube.com/watch?v=_Y45qtQ8FQc

प्रतिक्रिया दिनुहोस्