Logo
Logo

उद्योगपति केडिया अपहरणका मुख्य योजनाकार पक्राउ


- दृष्टि न्युज/संवाददाता


पासवान र महतो सार्वजनिक उद्योगपति सुरेश केडियोको अपहरणको मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र वाहन चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई शनिबार सार्वजनिक गर्दै पर्सा प्रहरी ।

पर्सा, २५ फागुन । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए ।
पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, संगठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्