Logo
Logo

स्थानीय तहले चासो नदिँदा संक्रमणको जोखिम बढ्यो


रासस


बझाङ । भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ । स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ ।
अहिले जिल्लामा १३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यानसमेत गएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालेको छ ।
जिल्ला बाहिरबाट घर फर्कनेको लर्को लाग्न थालेको छ । यसरी जिल्ला भित्रनेलाई क्वारेन्टिनमा नराखी सीधै घर पठाउँदा संक्रमण फैलिने त्रास भएको तलकोट गाउँपालिकाका गणेश धरालाले बताए ।
सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसंँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरु घर फर्कन थालेका छन् । हुलका हुल मानिस गाउँ पसेका छन् ।
गाउँमा न त क्वारेन्टिन छन्, न त सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय तहहरू कोरोनाको संक्रमण नियन्त्रणका लागि संवेदनशील नहुँदा संक्रमण भयावह हुन थालेको धरालाले आरोप लगाए ।
जिल्ला स्वास्थ्य कार्यालयले एक महिनाअघि कोरोनाको जोखिम कम गर्न स्थानीय तहलाई स्वास्थ्य शाखा संयोजक प्रमुख रहने गरी टोली परिचालन गर्न पत्राचार गरेको थियो ।
जोखिम कम गर्न घटना अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी टोली परिचालन गर्न पत्राचार गरिएको भएपनि स्थानीय तहले बेवास्ता गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानीय तह सक्रिय नहुँदा संक्रमण झन् बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्केकाहरूमा कडा खालको संक्रमण देखिएको र हालसम्म परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
जोशीले भने, ‘भारतबाट फर्केका दुई जनाको त संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिले गम्भीर अवस्थाका २५ जनालाई कोभिड वार्डमा राखेर उपचार गराइरहेका छौँ । यसरी संक्रमण दर बढ्दै जाने हो भने बेड पनि थप्नुपर्ने अवस्था आउँछ ।’
उनले संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण झन् बढ्दै गएको बताए । उनले भने, ‘संक्रमितलाई आइसोलेशनमा राख्ने र जिल्ला भित्रनेलाई कडाइका साथ क्वारेन्टिनमा राख्ने व्यवस्था नभए संक्रमणले भयावह रूप लिने संकेत छ ।’
स्थानीय तहमा क्वारेन्टिन नभएको र जिल्ला बाहिर बाट घरफर्केकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।
उनले भने, ‘अहिलेसम्म त हाम्रो गाउँपालिकामा त्यति जोखिम छैन । गत वर्ष क्वारेन्टिन व्यवस्थापन गर्न हम्मेहम्मे भयो । हामीले जिल्ला भित्रने सबैलाई दश दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनेका छौँ । हामीसँग कोभिड वार्ड पनि छ ।’
लक्षण देखिएका र शंकास्पदलाई सोही ठाउँमा चिकित्सकको निगरानीमा राखेका बताउँदै उनले भने, ‘संक्रमणबाट बच्न सरकारले लागु गरेका नीतिनियमको पालना गर्न विभिन्न सञ्चारमाध्यमबाट सूचना सम्प्रेण गरिरहेका छौँ ।’
सरकारी कार्यालयका सेवा बारअनुसार
जिल्लामा कोरोनाको संक्रमण बढेपछि सरकारी कार्यालयले १२ वटै पालिकावासीलाई बारअनुसार सेवा दिन लागेको छ । कार्यालयमा भीडभाड हुनसक्ने अवस्थालाई ध्यानमा राखी कार्यालयले सबै स्थानीय तहलाई बार छुट्याएको हो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अदालत, मालपोत तथा नापीलगायत सरकारी कार्यालयले सेवाग्राहीको भीडभाड रोक्न स्थानीय तहलाई हप्तामा दुईदुई दिन छुट्याएर सेवा शुुरु गरेको हो ।
निमित्त प्रजिअ विष्णुप्रसाद सुवेदीलाई कोरोना संक्रमण भएपछि नागरिकता जारी गर्ने काम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बुधबार साँझ सुवेदी संक्रमित भएर आइसोलेशनमा बसेपछि बिहीबारदेखि नागरिकता जारी गर्ने काम बन्द भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि यही वैशाख २० गतेसम्मका लागि सबै सेवा बन्द गरिएको छ । खप्तडछान्ना गाउँपालिकामा पनि कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
सदरमुकामलगायत मुख्य बजार बन्द
कोरोना संक्रमण जोखिम बढ्दै गएपछि सदरमुकाम चैनपुरलगायत मुख्य बजार क्षेत्र बन्द भएका छन् । बजारमा भीडभाड हुन नदिन र पसल बन्द गराउन प्रहरी परिचालन गरिएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा संक्रमण देखिन थालेको निष्कर्ष निकाल्दै शुक्रबारदेखि बजार बन्द गर्ने निर्णय गरेको थियो ।
जिल्लामा संक्रमणदर बढदै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो । जथाभावी आवतजावतले जोखिम बढाएकाले चैनपुरमा आवतजावतमा पनि रोक लगाइएको छ ।
स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाबाहेकका खाद्य पदार्थ, तरकारी र ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खुला हुने भएका छन् । औषधोपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्