Logo
Logo
सहजुर-बोगटान सडकखण्ड :

निर्माण कम्पनीले ढिलाइ गर्दा यात्रुलाई सास्ती


हिक्मत बम


कैलाली । सहजुर-वीपीनगर-बोगटान सडकखण्डको निर्माण कार्य सुस्त गतिमा हुँदा उक्त सडकखण्ड पानी पर्दा हिलाम्यै र घाम लाग्दा धुलाम्य हुने गरेको छ ।
निर्माण कम्पनी कुमार कस्ट्रक्सनले २७ महिनामा काम सक्ने जिम्मा लिएको सहजपुर-बोगटान सडकखण्डको निर्माण कार्य २३ महिना पुरा हुनै लाग्दा पनि ३७ प्रतिशत कार्य सकिएको छैन ।

सडक निर्माण गर्दा नाला बनाउनका लागि खनिएका खाल्डाखुल्डीहरुको व्यवस्थापन नहुँदा र निर्माण कार्यले तिब्रता नपाउँदा सो सडकखण्डमा हिँडड्ल गर्ने यात्रुहरुले वर्षातको समयमा हिलो र गर्मीको समयमा धुलोसंग जुध्नु परेको स्थानीयहरुले बताएका छन् ।

निर्माण कम्पनीले काम सक्नुपर्ने अवधि भित्र काम नसक्दा र सडकखण्डका दायाँ र बायाँ खाल्डाखुल्डीहरु हुँदा सो सडकखण्डमा यात्रा गर्ने यात्रुहरु र सवारीसाधनहरु दुर्घटनाको जोखिममा पर्ने खतरा बढ्दै गएको छ ।

यता निर्माण कम्पनीले कोरोना महामारीको त्रासका र वन क्षेत्रमा पर्ने रुखहरुको कटानी आदेश नपाउँदा निर्माण कार्यमा ढिलाइ भएको बताएको छ । निर्माण कम्पनीका अनुसार दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्दै गएसंगै कामपनि सुस्त गतिमा हुँदै गएको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि काम गर्ने मजदुरहरु घर जाने क्रम सुरु भएसँगै निर्माण कार्यमा ढिलाइ हुँदै गएको कम्पनीले बताएको छ । वनको कटानी आदेश पाएर तिब्ररुपमा काम भइरहेको सो सडकखण्डको काम दोस्रो लहरको कोरोना भाइरसको संक्रमणले गर्दा कैलालीको सहजपुर हुँदै दिपायल जोड्ने सहजपुर—वीपीनगर—बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ ।

सडक क्षेत्रमा पर्ने रुख काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि सडकमा काम गर्ने मजदूर घर फर्किन थालेका कारण कामले तीव्रता पाउन नसकेको बताइन्छ ।

निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न नगर्दा र निर्माण कार्य अहिले सम्म पनि ३७ प्रतिशत पनि नहुँदा स्थानीयवासीमा निराशा छाएको चुरेगाउँपालिका–१, निगालीकी नीता बोहराले बताइन् । उनले भनिन्, ‘समयमै काम सकिएला र पिच सडकमा यात्रा गरौँला भन्ने आशा थियो । तर समयमा काम सम्पन्न नहुँदा त्यो आशपनि मर्दै गएको छ ।’

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ४० किलोमिटरको उक्त सडक निर्माण निर्माण कार्य कोरोनाले गर्दा खासै भौतिक प्रगति हुन नसकेको निर्माण कम्पनीले दाबी गरेको छ ।

आगामी असार ७ गते सक्ने गरी २०७५ मङ्सिर २२ गते पिआरएल कुमार जेभीसंग सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रेका लागि सम्झौता भएको थियो ।

सम्झौतानुसार सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँ-बायाँ एकएक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रु. एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलरमा भएको हो ।

शिलान्यास भएको केही सयम कामले तीव्रता पाएपनि कोरोनाका कारण पटकपटक हुने बन्दाबन्दीलगायत स्थानीयवासीको अवरोधका कारण तोकिएका समयमा लक्ष्य पूरा हुन नसक्ने सडकका आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले बताए उनका अनुसार सडकको अहिलेसम्म करीब ३५ प्रतिशतमात्रै काम भएको छ ।

सर्वसाधारणले अहिले सो सडकमा आवतजावत गर्दा निकै सास्ती खेपिरहनुपरेको वीपीनगरका स्थानीय व्यापारी भोजबहादुर देउवाले बताए । वर्षामा हिलो र अरुबेला धुलाम्मे हुँदा उक्त सडकखण्डमा आवतजावतमा पहिलेभन्दा बढी सास्ती खेप्नुपरिरहेको समेत उनले गुनासो पोखे । कालोपत्रेको काम नहुँदा सडकभरि डोजरले खनेको हिलो र धुलाले आवतजावतमा समस्या हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

सो सडकमा तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले वि.स. २०४४ मा साधारण मार्ग खोल्ने कामको शिलान्यास गरेका थिए ।
आयोजनाको शुरुको सम्झौता अवधि सकिन लागेको छ । पछिल्लो समय कोरोनाले काम गर्ने कर्मचारीलाई पनि असर गर्न सक्ने भनी कामदार घर फर्किने तयारी गरेपछि सडकको काम अझै रोकिने अवस्था आएको बताइएको छ ।

उक्त सडक निर्माणपछि कैलालीको चुरे र डोटीको दक्षिणी भेगका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ । सडक विस्तारसंगै सो क्षेत्रमा उत्पादित कृषि उपजले पनि बजार पाउने आशामा खुशी भएका नागरिक सडकको कामले गति नलिएपछि निराश भएका छन । उक्त सडकखण्डाको शिलान्यास २०७५ फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्