Logo
Logo

राजधानीमा तिब्बती शरणार्थीहरु विरोध प्रदशर्नको तयारीमा, प्रहरी ‘हाई अलर्ट’मा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २५ फागुन ।

मार्च १० को अवसरमा तिब्बती शरणार्थीहरूले चीन विरोधी प्रदर्शनको तयारी गरेपछि काठमाडौंमा प्रहरीले विशेष सक्रियता बढाएको छ । फ्री तिब्बतको पक्षमा विरोध प्रदर्शन हुन सक्ने आशंका गर्दै प्रहरी सक्रियता बढाइएको हो ।


हरेक वर्ष १० मार्चलाई ‘तिब्बत अपराइजिङ डे’का रूपमा तिब्बती शरणार्थीले प्रदर्शन गर्दै आएका छन् । विगतमा मार्च महिनाभरि नै यस्ता प्रदर्शन हुने गरेका थिए । चिनियाँ दूतावासआसपास विशेष सुरक्षा टोली खटाइएको छ । तिब्बती शरणार्थी बस्ने क्याम्प आसपासमा सादा पोसाकमा खटिने सुरक्षाकर्मीको संख्या बढाइएको छ । यो वर्ष जसरी पनि विरोध प्रदर्शन गर्न पश्चिमी देशहरुले दबाब दिएको सूचना प्रहरीले पाएको छ ।
परिस्थितिजन्य सुरक्षा विश्लेषण गरी संवेदनशीलताका आधारमा चिनियाँ दूतावासलगायत क्षेत्रमा सुरक्षा बढाइने महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापाले बताए । दूतावासआसपासका क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी खटाइएको छ ।

१० मार्चमा तिब्बती शरणार्थीको गतिविधि रोक्न प्रहरीले गृह मन्त्रालयकै निर्देशनमा सक्रियता बढाएको हो । नेपालले एक चीन नीति लिएकाले चीन विरोधी गतिविधि पूर्णरूपमा निषेध गर्न निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । केही पश्चिमी देशले तिब्बती शरणार्थीको अधिकार रोक्न नहुने भन्दै दबाब दिने गरेका छन् । ‘यो वर्ष जसरी पनि विरोध प्रदर्शन गर्नुपर्छ भनेर शरणार्थीलाई उनीहरूको दाताले निर्देशन दिएका रहेछन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यही भएर प्रहरीले सक्रियता बढाएको हो ।’
उपत्यकामा १७ सय तिब्बती शरणार्थी

काठमाडौं उपत्यकामा १३ वटा क्याम्पमा एक हजार सात सय नौ जना तिब्बती शरणार्थी बस्दै आएको प्रहरीको तथ्यांक छ । धेरै जसो बौद्ध, जोरपाटी, स्वयम्भू र जावलाखेलमा बस्छन् । जोरपाटी खम्बा क्याम्प, बौद्ध क्याम्प, नाम्गेल उच्च मावि, साम्लेघिङ्घ गुम्बा, पेङसिङ गुम्बा, थाङ गुम्बा, सेचेत गुम्बा, कपन गुम्बा, स्वयम्भु रिफ्युजी गुम्बा, शाक्य मेमोरियल गुम्बा, दोङ छोलिङ गुम्बा, ढोग्रान गुम्बामा तिब्बती शरणार्थी बस्दै आएका छन् । जावलाखेलको ह्यान्डीक्राफ्ट सेन्टरमा ४३१ जना बस्दै आएका छन् । देशभरि करिब २० हजार तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको अनुमान छ । लामो समयदेखि तिब्बती शरणार्थीको गणना भएको छैन । विगतमा दर्ता भएका शरणार्थीलाई सरकारले परिचयपत्र दिने गरेको छ ।

सन् १९९३ को गणनाअनुसार नेपालमा १३ हजार ५१४ तिब्बती शरणार्थी छन् । सात हजारभन्दा धेरै अवैध रूपमा बस्दै आएका छन् । युएनएचसिआरलगायत संस्थाहरूले तिब्बती शरणार्थीको पुनः गणनाको दबाब दिइरहेका छन् ।

शरणार्थीलाई विरोध प्रदर्शनमा सरकारको कडाइ

निर्वा्चित तिब्बती धर्मगुरु दलाई लामाका समर्थकले चीनले तिब्बतलाई नियन्त्रणमा लिएको दिन १० मार्चलाई ‘तिब्बत अप्राइजिङ डे’को रूपमा मनाउँछन् । सो दिन नेपाल, भारत, लन्डन, अमेरिकालगायत संसारका विभिन्न मुलुकहरूमा पनि जुलुस प्रदर्शन हुने गरेका छन् । सन् १९५९ मा तिब्बतमाथि चीनले नियन्त्रण कायम गरेको थियो । धार्मिक गुरु दलाई लामाको प्रतिनिधिको कार्यालय नेपालमा पनि छ । लाजिम्पाटमा रहेको सो कार्यालय ‘कादेन खान्सार’ नामले चिनिन्छ, जसलाई तिब्बतियन रिफ्युजी वेलफेयर अफिसका रूपमा दर्ता गरिएको छ । सो कार्यालयमा धर्मशालाबाटै बजेट आउने गरेको छ । कार्यालय प्रमुखमा छुल्ट्रिम ग्यास्टो छन् । उनी खम्पा विद्रोह पृष्ठभूमिको परिवारका व्यक्ति हुन् ।

सन् १९५९ मा तिब्बती धर्मगुरु दलाई लामा तिब्बत छाडेर भारत पसेका थिए । हाल उनी भारतको हिमाञ्चल प्रदेशको एक धर्मशालामा बस्छन् । उनका अनुयायी नेपालमा छन् । विगतका वर्षमा सीमाक्षेत्रबाट भागेर तिब्बती शरणार्थी नेपाल आउने गर्दथे । तर, पछिल्ला वर्ष सरकारले कडाइ गरेपछि शरणार्थी आउने क्रम रोकिएको छ भने उनीहरूको प्रदर्शन पनि कम हुँदै आएको छ ।

फ्री तिब्बतसम्बन्धी गतिविधि बढ्न लागेको सूचनाकै आधारमा चिनियाँ राजदूत हाउ याङ्गीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटेर त्यस्ता गतिविधि रोक्न आग्रह गरेकी छिन् । भेटमा राजदूत याङ्गीले चीन विरोधी गतिविधि सरकारले रोकेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधि रोक्न आग्रह गरेको मन्त्री थापाको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । राजदूत याङ्गीले चीनका सामाजिक सुरक्षामन्त्रीले दिएको चीन भ्रमणको निमन्त्रणबारे पनि गृहमन्त्रीलाई जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्