Logo
Logo

भारतबाट आएका नेपाली एन्टिजेन परीक्षण नै नगरी गाउँ पुग्न बाध्य


हिक्मत बम


धनगढी । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएसँगै सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट दैनिक सयौं नेपाली घर फर्कने क्रम जारी छ । तर, सीमानाकामा एन्टिजेन परीक्षण समेत हुन सकेको छैन ।

सीमानाकामा स्थापना गरिएका हेल्थ डेस्कमा किट अभावका कारण कोरोना संक्रमण परीक्षणको प्रारम्भिक चरण मानिएको एन्टिजेन परीक्षण समेत हुन नसकेको हो । एन्टिजेन परीक्षण समेत नहुने भएपछि दैनिक सयौंको संख्यामा नेपाली नाकामा चेकजाँच नै नगरी गाउँ पुग्ने गरेका छन् ।

कोरोनाले भयाभव रुप लिएको भारतका विभिन्न शहरबाट नेपाल फर्केकाहरुको एन्टिजेन परीक्षण नहुँदा सुदूरका गाउँगाउँमा संक्रमण फैलने र भयावह रुप लिनसक्ने खबतरा बढेको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरू कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि तीन हजार संख्यामा नेपाली घर फर्कने गरेका छन् । घर फर्केकाहरु मध्ये थोरैको मात्र परीक्षण हुने गरेको सीमानाकामा परीक्षणको लागि खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भएका कारण सत प्रतिशत परीक्षण हुन नसकेको हो । गड्डाचौकी नाकाबाट मात्र दैनिक पाँच सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् । तीमध्ये एक सय जनाभन्दा पनि व्यक्तिको मात्र परीक्षण हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट नेपाली घर फर्किरहेका छन् ।

गौरीफन्टा नाकाबाट दैनिक झण्डै एक हजारको संख्यामा नेपाली भित्रने गरेका छन् । तीमध्ये एक सयदेखि डेढ सयको संख्यामा मात्र परीक्षण हुने गरेको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारका अनुसार कञ्चनपुरमा अहिले दुई सय एन्टिजेन किट मात्र मौज्दात छ । मौज्दात किटले एक दिन परीक्षण गर्न समेत पुग्दैन । कैलालीको अवस्था पनि उस्तै छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा छ । तर, भारतबाट नेपाल भित्रने क्रम रोकिएको छैन । निषेधाज्ञाकै क्रममा समेत नेपाल भित्रनेको सीमानाकामा एन्टिजेन परीक्षण नहुँदा सुदूरका गाउँ गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्